
बेनी, तीन महिनापछि शुक्रबार बिहानदेखि भएको बर्षाले म्याग्दीका कृषकहरुलाई राहत मिलेको छ ।
मङसिर, पुष र माघ महिनामा बर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरु चिन्तित भएका थिए । बर्षाका कारण हिउँदे र बर्खे दुवै खाद्यबाली र फलफुल खेतीलाई पुग्ने कृषक र प्राविधिकहरुले बताएका छन् ।
अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक फासबहादुर गर्बुजाले बर्षाले जमिन भिजेर सिञ्चित भएकाले गहुँ, उवा, जौव, केराउबाली फस्टाउने तथा बर्खे आलु र मकैको विउ उम्रिने बताउनुभयो ।


सिचाई सुविधा नभएका ठाउँमा लामो समयको खडेरीले हिउँदेबाली फस्टाउन सकेको थिएन् । सुख्खा मौसमसँगै वनजंगलमा डढेलो लाग्न थालेको थियो । बर्षाले वनमा लागेको डढेलो पनि निभाएको छ । मौसम सफा हुने अपेक्षा गरिएको छ ।
बर्षातपछि खेतबारीमा राखेको मल भिज्ने र बिरुवाले आवश्यक तत्व पाउने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । हिउँदे आलु खन्नका लागि एक, दुई दिन जमिन सुक्न दिन उहाँले कृषकहरुलाई सुझाव दिनुभयो ।
३० हजार आठ सय ५६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भएको म्याग्दीमा २७ दशमलब ९४ प्रतिशत अथवा एक हजार छ सय ८० हेक्टरमा मात्र बाह्ै महिना सिचाई सुविधा छ । ६९ दशमलब १६ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।
म्याग्दीको दुई हजार पाँच सय ३० हेक्टरमा गहुँ, दुई सय ७५ हेक्टरमा जौ, एक सय ९० हेक्टरमा उवा र नौ हजार चार सय ३५ हेक्टरमा बर्षे मकै खेती हुन्छ । एक हजार ९५ हेक्टरमा बर्षे र छ सय २० हेक्टरमा हिउँदे आलु खेती हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
