
बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब १३ करोड रुपैयाँ हिनामिनामा संलग्न जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित २५ जना विरुद्ध बिहिबार अभियोगपत्र दर्ता भएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले उनिहरु विरुद्ध मुद्दा चलाउन अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
संगठित रुपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋण वापतको रकम, नेपाल सरकारको राजस्व समेत हानी नोक्सानी पु¥याई सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियम विपरित गरेका उनिहरुलाई सम्पत्ती शुद्धिकरण (मनि लाउण्डरीङ) निवारण ऐन २०६४ बमोजिम थप अनुसन्धान र कारबाही गर्न माग माग भएको छ ।

जिल्ला अदालत म्याग्दीका सूचना अधिकारी डिल्लीराम पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आगामी आइतबारदेखि थुनछेक बहस शुरु हुने जानकारी दिए । ‘समय अभावका कारण प्राप्त भएको अभियोगपत्र दर्ता मात्र भएको छ,’ उनले भने ‘आइतबारदेखि थुनछेक बहस सुरु हुन्छ ।’

सहकारीका वर्तमान र पुर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरुलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन् । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितहरुको नाम सार्वजनिक गरेका छैनन् । एक वर्षअघि भएको सहकारी रजिष्ट्रारको कार्यालयको छानविन प्रतिवेदनमा एक अर्ब ४९ करोड हिनामिना भएको उल्लेख भएपनि एक अर्ब १३ करोड हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा कुमारी सहकारीका पुर्व सचिव, उपाध्यक्ष र ऋण समितिको पदाधीकारी हुन् । वि.स. २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित थापा उक्त पार्टीको पुर्व जिल्ला उपसचिवको जिम्मेवारीमा थिए । थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार चार सय २६ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।
उक्त सहकारीका पुर्व प्रबन्धक जलजला गाउँपालिका–३ पर्वत बेनीका ५३ वर्षीय रुद्र गुरुङले १३ करोड ५९ लाख ४८ हजार छ सय नौ रुपैयाँ अपचलन गरेका अनुसन्धानबाट खुलेको छ । अनुसन्धान प्रतिवेदन अनुसार सहकारीका सचिव, पुर्व सहसचिव र लेखा समिति सदस्य बेनी नगरपालिका–१ की ४९ वर्षीय देवीकुमारी थापाले तीन करोड ७१ लाख चार हजार छ सय एकतिस रुपैयाँ र पुर्व अध्यक्ष रघुगङ्गा गाउँपालिका–५ का ६७ वर्षीय मनप्रसाद थजालीले पाँच करोड ८२ लाख ६६ हजार सात रुपैयाँ हिनामिना गरेका छन् ।
पुर्व कोषाध्यक्ष, पुर्व अध्यक्ष, पुर्व ऋण समिति सदस्य अन्नपूर्ण गाउँपालिका–७ का ६६ वर्षीय थमबहादुर गर्बुजाले चार करोड ५५ लाख ९४ हजार दुई सय २७ रुपैयाँ र लेखासमितिका पुर्व सदस्य बेनी नगरपालिका–४ का ३७ वर्षीय लोकबहादुर पुन (लोकेश)ले दुई करोड १० लाख ४६ हजार ४४ रुपैयाँ हिनामिना गरेका छन् । फरार रहेकाहरुले पनि कम्तीमा ५२ लाख ९३ हजार देखि सात करोड ४४ लाख रुपैयाँ अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानविन प्रतिवेदन, पक्राउ परेकाहरुसँग सोधपुछ, कागजात तथा प्रमाणको अध्ययन र पिडित बचतकर्ताहरुको उजुरीको आधारमा अनुसन्धान गरेको हो । प्रबन्धक रुद्र गुरुङ, पुर्व उपाध्यक्ष राजकुमार थापा, पुर्व अध्यक्ष मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, पुर्व कोषाध्यक्ष बालकुमार रोकालाई मुख्य प्रतिवादी बनाइएको छ । हाल अस्टे«लीयामा रहेका रोकाले सहकारीको रु. सात करोड ४४ लाख ६३ हजार पाँच सय ८३ अपचलन गरेको खुलेको छ ।
सञ्चालक समिति, ऋण उपसमिति र लेखा सुपरिवेक्षक समितिमा दवाव दिई समितिका पदाधिकारीलाई बाध्यात्मक स्थिति सृजना गरी संस्थालाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखि सम्पूर्ण सिष्टमको तालाचाबी आफूहरुलेनै लिई गलत लेखा परिक्षण गराई झुठा प्रतिवेदन सार्वजनिक गर्ने, अनाधिकृत रुपमा कारोवार सञ्चालन गर्ने, सहकारीको रकम अपचलन गरि आफ्नो नाममा निजी सम्पत्ति खरिद बिक्री गरि गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको छ ।
सहकारी ठगी गरेको रकमले नजिी सम्पत्ति खरिद गरी एकिकृत गर्ने, निजी कम्पनीमा रकम निकासा गराउने, सहकारीको रकमलाई गैरकानुनी रुपमा ढुकुटीका कारोबारहरुमा प्रयोग गर्ने, प्रचलित कानुन बमोजिम सहकारी ऐन तथा कर्जा प्रक्रृयाको मापदण्डनै पुरा नगरी सहकारीको पुजिकोषको १० प्रतिशत भन्दा अधिक मात्रामा कर्जा प्रवाह गर्ने, कर्जा प्रवाह गर्दाका बखतमा पर्याप्त मात्रामा कर्जा विष्लेषण तथा सुरक्षण नलिई कर्जा प्रवाह गराउने, पेश्कीका नाममा रकम हिनामिना मिलान गर्ने, ऋण देखाई रकम हिनामिना गराउने, चार हजार भन्दा बढी सदस्यको कारोबार गराई सिमित व्यक्तलाई सेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जिवन बिमा गराई सहकारीको रकम हिनामिना गर्ने, आफूहरुले लिएको ऋणको दायित्व भुक्तान नगरी आम्दानी हिनामिना गराउने, ब्याज छुट खर्च लेखी रकम हिनामीना गर्ने, सहकारी ऐन कानुन विपरित कर्जा भन्दा बढी बचतमा ब्याजदर कायम गराई रकम हिनामिना गर्ने जस्ता कार्य गरेको आरोप अभियोगपत्रमा उल्लेख छ ।
