सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना उद्घाटन

Gandaki Kotihome

सिंगा ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा निर्माण भएको ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजनाको मंगलबार उद्घाटन गरिएको छ ।

योजनाको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको हो । बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरुको श्रमदानमा रु. १२ लाखको लागतमा निर्माण भएको छ्यारछ्यारे खानेपानी आयोजना मार्फत ३० घरपरिवार लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र चोखालले वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा बिनियोजन गरेको रु. आठ लाख बजेट र रु. चार लाख बराबरको श्रमदानमा योजना निर्माण भएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“छ्यारछ्यारेमा मुहान, पाइपलाइन, टंकी र २२ वटा नयाँ धारा निर्माण गरिएको छ भने आठ वटा पुराना धारालाई मर्मत गरेर खानेपानी वितरणको व्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “घरघरमा मिटर सहितको धाराबाट खानेपानी वितरण भएपछि समयको बचतका साथै पानीका कारणले हुने सामाजिक दन्द्ध न्युनीकरण भई सद्भाव कायम गर्न सहयोग पुगेको छ ।”

खानेपानी योजना निर्माणका लागि कुल लागतको दश प्रतिशत श्रमदान गर्नुपर्ने नगरपालिकाको नीति भएपनि प्रतिघर २७ दिनका दरले रु. चार लाख बराबरको श्रमदान भएको उपभोक्ता समितिका सचिव लालबहादुर कार्कीले बताउनुभयो ।

यसअघि वि.स. २०६५ मा निर्माण भएको योजनाको सार्वजनिक धारा पुरानो भएको र पानी वितरण गर्न असहज भएपछि नयाँ निर्माण गरिएको उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए ।

Annapurna aarohan ko notice

वितरण प्रणालीलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दिर्घकालिन सञ्चालन गर्न धारामा मिटर जडान गरेर पानीको खपतको आधारमा शूल्क संकलन गर्ने ब्यवस्था मिलाइएको छ ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले सम्झौता भन्दा बढी रकम बराबरको श्रमदान गरेर सिस्नेरा र बाजगराका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका बताउनुभयो ।

बेनी नगरपालिकाको वडा नं.–४ मा पर्ने डाडाखेतमा एक घर, एक धारा सहितको खानेपानी योजना निर्माणका लागि प्रदेश सरकारबाट गत वर्ष रु. २० लाख बिनियोजन गरेर शुरु गरेको योजनाका लागि यस वर्षपनि रु. २० लाख बिनियोजन भएको र निर्माणाधिन रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँका अनुसार आठ सय ३४ घरपरिवारको बसोबास रहेको बेनी नगरपालिकाको वडा नं.–४ को डाडाखेत र थामडाडा बाहेकका टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगेको छ ।

थामडाडाको खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले बिनियोजन गरेको रु. दुई लाख बजेटबाट काम भैरहेको छ । सिंगा, सुर्केमेला, बास्कुना, स्वाँत, ठुलोखोला, राक्से टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगिसकेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

अमर किसानको सञ्चालनमा सम्पन्न खानेपानी आयोजना उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका कार्यपालिका सदस्य मिना कार्की, वडा सदस्य पवित्रा सार्की, केन खत्री, जनचेतना युवा क्लवका अध्यक्ष मनबहादुर भण्डारी, साविक वडा नं. ७ को टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद पौडेल, तेजबहादुर बानिया, अंकित परियार लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । स्थानीय कलाकारहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...