
बेनी ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको प्रशारण लाईन र सवस्टेशनको परिक्षण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन् ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइन र रातोढुुङ्गामा निर्माण भएको ३३÷११ केभी क्षमताको सवस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो ।
वि.स. २०८० को माघ महिनामा गरिएको परिक्षण सफल भएपनि आयोजना, निर्माण कम्पनी र नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रको खिचातानीका कारण सञ्चालनमा आउन नसकेको मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

छ वर्ष अघिनै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रशारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार र विद्युत आपुर्ति प्रभावित भएको उहाँले बताउनुभयो ।
हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउदाँ समस्या भएको छ । २० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन प्राविधिक समस्या भएको हो ।

म्याग्दी खोलामा निर्माणाधिन चार वटा जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ६ मेगावाट विद्युत माग गरेका छन् । उनिहरुलाई रातोढुङ्गा सवस्टेशन मार्फत विद्युत उपलब्ध गराउने सम्झौता छ । तर सवस्टेशन सञ्चालन नुहँदा जलविद्युत आयोजनाहरुले पेट्रोलियम पदार्थको सहायताले उपकरण सञ्चाल गर्नुपरेको अपर म्याग्दी–१ जलविद्युत आयोजनाका प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो ।
एकातर्फ निर्माणाधिन जलविद्युत आयोजनाहरुले इन्धन प्रयोग गर्दा ब्यभार बढेको छ भने अर्कोतर्फ विद्युत प्राधिकरणले विद्युत बेचेर हुने आम्दानी गुमाएको छ । बेनीबाट ‘टिपिङ’ (लाइन जोडेर) प्रशारण लाइन र सवस्टेशनको परिक्षण गरिएपनि नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले मिलनचोक सवस्टेशनबाटै लाइन जोड्नुपर्ने अडान लिएको छ ।
केन्द्रका प्रमुख सत्यनारायण गामीले ठेक्का सम्झौता र प्राविधिक हिसाबले दिर्घकालिन रुपमा सञ्चालन गर्न मिलनचोकबाटै लाइन आपुर्ति गराउन अडान लिएको बताउनुभयो । नेपाल बिद्युत प्राधिकरण मार्फत ए टु जेड इञ्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रशारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो ।
निर्माण कम्पनीका प्रतिनिधी पद्यमसागर लुइटेलले बेनी देखि मिलनचोकसम्म थप ५० वटा पोल गाड्नुपर्नेमा आनन्दबगर क्षेत्रमा पाँच वटा पोल पर्ने ठाउँमा जग्गाधनीले अवरोध गरेकाले काम रोकिएको बताउनुभयो । आयोजना प्रमुख बोधराज ढकालले जनप्रतिनिधी र प्रशासनसँग बिवाद समाधानका लागि सहजिकरण गरिदिन अनुरोध गरेको बताउनुभयो ।
रोकिएको पोल गाड्ने र तार तान्न काम सकिएपछि प्रशारण लाइन र सवस्टेशन सञ्चालन गर्न सकिने बताउनुभयो । सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम २०८० को जेठ महिनामा चार वर्षपछि सूूचारु भएको थियो ।
