
बेनी ः प्रहरीले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानलाई निरन्तरता दिएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु. एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायतलाई सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धान गरि मुद्दा चलाउन प्रहरीलाई सिफारिस गरेको थियो ।
कार्यालयको सिफारिसको आधारमा माघ २० गते पक्राउ परेका सहकारीका पुर्व सञ्चालक समेत रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित पाँच र फागुन ७ गते बेनी नगरपालिका–४ का लोकेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।


उनिहरुमाथी अनुसन्धानका लागि मङगलवार देखि फागुन १५ गतेसम्म तीन दिन म्याद थप भएको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो । “प्रहरीले कुमारी सहकारीको विषयमा अनुसन्धान गर्न हिरासतमा राख्न फागुन ५ गते चौथो पटक थपिएको सात दिनको म्याद सोमबार सकिएको थियो,” उहाँले भन्नुभयो “एउटै मुद्दाका आरोपीलाई प्रहरीले २५ दिन भन्दा बढी हिरासतमा राख्न पाउदैन् । अब तीन दिन मात्र समय छ ।”
प्रहरी निरीक्षक सागर पौडेलले पक्राउ परेकाहरुसँग सोधपुछ, कागजात तथा प्रमाणको अध्ययन र पिडित बचतकर्ताहरुबाट उजुरी संकलन गरिएको बताउनुभयो बताउनुभयो । सहकारीका पूर्व सञ्चालक समितिका उपाध्यक्ष रहेका जिसस प्रमुख राजकुमार थापा, तत्कालिन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पुर्व अध्यक्ष मन प्रसाद थजाली, थमबहादुर गर्वुजा, सञ्चालक देवी कुमारी थापा र लोकेश पुनमगरलाई प्रहरीले हिरासतमा राखेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालयले गरेको एक सय १९ पृष्ठको छानविन प्रतिवेदन अनुसार वि.स. २०६५ मा खुलेको कुमारी सहकारीमा दुई कार्यकाल सचिव र वि.स. २०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष रहेका थापाको योजनामा बचतकर्ताको रकम व्यक्तिगत स्वार्थमा नियम विपरित प्रयोग भएकोले सम्पत्ती शुद्धिकरणको मुद्दामा पनि मुद्दा चलाउन सिफारिस भएको छ ।
तर थापाविरुद्ध सम्पत्ती शुद्धिकरणको मुद्दा नचलाउन, मुद्दालाई कमचोर बनाएर उन्मुक्ति दिन सरकारी वकिल र प्रहरीलाई राजनीतिक दवाव सिर्जना भएको शंका गरिएको छ । गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बेनी नगरपालिका–१ का वडा सदस्य हुदै जिसस प्रमुख निर्वाचित भएका थापा उक्त पार्टीको जिल्ला कमिटिको पूर्व उपसचिव पनि हुनुहुन्छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक पुनले थापासँग मिलेर सहकारीको पैसा दुरुपयोग गरेको छानविन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार बुद्ध एकेडेमीमा सहकारीबाट बिनाधितो रु. १६ करोड ऋण लगानी गरेका थापा र पुनले सहकारीबाट थप रु. १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यसैगरी सहकारीबाट बिनाधितो रु. १० करोड निकालेर थापा, पुन, गेमबहादुर घर्ती र मनप्रसाद थजालीका नाममा जग्गा खरिद भएको छानविनका क्रममा भेटिएको थियो ।
