
दरवाङ, मालिका गाउँपालिकाको केन्द्र दरवाङमा एक लाख रुपैयाँ भन्दा बढी पुरस्कार राशीको ‘तरुण कप’ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
नेपाल तरुण दल म्याग्दीको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगिताको प्रतिनिधीसभा सदस्य एवम् नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने वडा स्तरीय प्रतियोगितामा म्याग्दीको प्रदेशसभा १(२) मा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका १८ समूहबीच प्रतिस्पर्धा हुने तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

बिजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपबिजेतालाई ६६ हजार छ सय ६६ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । भलिबल प्रतियोगिताको साथै कलाकारहरु खड्ग गर्बुजा, कुमार पुनलगायतको गित प्रस्तुति सहितको तरुण साँझ पनि आयोजना गरिएको कार्यवाहक अध्यक्ष रोकाले बताउनुभयो ।


प्रतियोगिता उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य गर्बुजाले प्रजातन्त्रको जगमा स्थापना भएको संघीय गणतन्त्रात्मक व्यवस्थाको सवलीकरण मार्फत नागरिकको विकास प्रतिको चाहना पुरा गर्न सकिने बिचार व्यक्त गर्नुभयो । आफू युवा हँुदा भलिबल खेलाडी रहेको स्मरण गर्दै उनले खेलकुदको माध्यमबाट मेलमिलाप, अनुसाशन, सद्भाव र सहकार्यको सन्देश दिन सकिने बताउनुभयो ।
दरवाङका साथै यही फागुन १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रदेशसभा १(१) मा पर्ने बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको अन्तर वडा क्षेत्रीय पुरुष र अन्तर पालिका जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
पुरुष भलिबल प्रतियोगिताको बिजेता र उपबिजेतालाई क्षेत्र १(२) बराबरको तथा महिला भलिबलमा बिजेतालाई ७७ हजार सात सय ७७ रुपैयाँ र उपबिजेतालाई ४४ हजार चार सय ४४ रुपैयाँ पुरस्कार प्रदान गरिने तरुण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले बताउनुभयो ।
म्याग्दीमा लोकप्रिय भलिबल खेलको प्रर्वद्धन, खेल प्रतिभाको पहिचान, प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको तरुण दल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ (विश्वास)ले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न १५ लाख रुपैयाँ खर्च हुने तरुण दल म्याग्दीले जनाएको छ ।
