
बेनी, सडक स्तरोन्नति नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनीसँगै रहेको पर्वतको स्थानीय तह हो । बाँसखर्क धौलागिरी क्षेत्रमा धेरै सुुन्तला खेती हुने गाउँ हो ।
म्याग्दीको कालीपुल देखि बगरफाँट हुदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्चि सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला सवारी साधन गाउँमा पुग्न नसक्दा सुुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा कृषक जगतबहादुर खत्रीले बताउनुभयो ।
“साना खालका बोलेरो जीपमा थोरै÷थोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ठुलो ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झञ्जटका साथै श्रम र समय धेरै खर्चनुुपरेको छ,” उहाँले भन्नुभयो “सडकको समस्याले सुन्तला थिचिने मिचिने र कुहिएर नष्ट भएर कृषकहरुले क्षति ब्यहोर्नुपरेको छ ।”

१० वर्षअघि स्थानीयबासीहरुले चन्दा संकलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दुरीको बेनी–बगरफाँट–बाँसखर्क बाहेक बाँसखर्क जोड्ने अरु दुई वटा सडक छन् । बेनी–बगरफाँट–बाँसखर्क भन्दा बेनी–मल्लाज–बाँसखर्क सडक पाँच किलोमिटर र मोहनचोक–मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ ।
मल्लाज क्षेत्रको सडक स्तरोन्नति भएपनि बाँसखर्क प्रवेश गरेपछि साघुरो, ग्रेड तथा मोड नमिलेको कच्चि सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । बाँसखर्कका दुई सय घरपरिवारले व्यवसायिक सुन्तला खेती गरेका छन् । यो वर्ष मात्र बाँसखर्कबाट रु. १८ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको वडा अध्यक्ष जगबहादुुर रोकाले बताउनुभयो ।

देशका अन्य ठाउँको बगैचा निख्रिएपछि बाँसखर्कको सुन्तला टिपेर बजार पठाउने गरिन्छ । एक जना कृषकले वार्षिक रु. पाँच लाख देखि रु. ४५ लाख सम्मको सुन्तला बिक्री गर्छन् । सडक सहज हुुने हो भने सुुन्तलालाई सुुरक्षित र सहज रुपमा बजारमा पठाउन सकिने, ढुवानीको खर्च घट्ने, यात्राअवधी एक घण्टाबाट १५ मिनेटमा छोटिने वडा अध्यक्ष रोकाले बताउनुभयो ।
तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत अघिल्लो कार्यकालमा बगरफाँट–बाँसखर्क सडक आयोजना सञ्चालन भएपनि पूूर्णता नपाउदै प्राधिकरण खारेज भएपछि संघीय सरकारको वार्षिक कार्यक्रमबाट आयोजना हटेकाले समस्या भएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
“पुनःनिर्माण प्राधिकरण खारेज भएपछि हराएको योजना खोज्दै सडक विभाग देखि डोलिडार र प्रदेश सरकारसम्म धायौ, कतै पनि कागजात भेटिएन,” उहाँले भन्नुभयो “नयाँ प्रक्रीयाबाट सडक स्तरोन्नति गर्न संघीय र प्रदेश सरकारसँग पहल गरेका छौ ।” पुरानो योजना मार्फत करिब एक सय ५० मिटर सडक ढलान र केही ठाउँमा पर्खाल तथा नाली मात्र निर्माण भएको छ ।
सडकको समस्या देखाउनकै लागि गत माघ महिनाको ११ गते गाउँपालिका र वडा कार्यालयले गण्डकी प्रदेशका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्यमा अर्याल जिसी, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा र प्रदेशसभा सदस्य भक्त कुँवरलाई बोलाएर बाँसखर्कमा सुुन्तला महोत्सव गरेर ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा आउनुभएका मुुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरुले बाँसखर्क जोड्ने सडकलाई स्तरोन्नति गरेर सहज रुपमा सुुन्तला लगायत कृषि उपज ढुवानीको व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रदेश सरकारले चालुु आर्थिक वर्षमा बगरफाँट–बाँसखर्क सडकका लागि रु. ३० लाख बजेट बिनियोजन गरेको छ । संघीय सरकारको बेनी–जोमसोम–कोरला सडक योजना मार्फत गत वर्ष बेनी नगरपालिका–८ कालीपुल र जलजला गाउँपालिकाको बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा ४५ मिटर लामो बेलिब्रिज जडान भएको थियो ।
