पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुलाई स्थलगत रुपमा सुन्तलाजात फलफुल सुदृढीकरण तथा व्यवस्थापन (सेवाटेवा) सहितको स्थलगत तालिम प्रदान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्विकृत कार्यक्रम अनुसार वडा नं. –१ दोवा, वडा नं.–४ नारच्याङ र वडा नं.–६ को बैसरीमा एक÷एक दिनको तालिम सञ्चालन गरिएको हो ।
सुन्तला खेतीमा देखिएको समस्या पहिचान गरि समाधानका लागि कृषकहरुलाई प्राविधिक ज्ञान सिप हस्तान्तरणका साथै औजार पनि वितरण गरिएको छ । दोवामा ३५ जना, नारच्याङमा ४५ जना र बैसरीमा ४५ जना कृषकहरुको सहभागितामा तालिम प्रदान गरिएको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाका प्रमुख श्यामशरण कुर्मीले बताउनुभयो ।


कृषकहरुलाई बगैचामै सुन्तला खेती प्रविधिमा जग्गाको रेखाङ्कन, नर्सरी, काटछाँछ, मलखाद व्यवस्थापन, औसा किरा (चाईनिज फ्रुट फ्लाई) लगायत रोगकिराको व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान, सिप प्रदान गरिएको थियो । कृषि ज्ञान केन्द्रको आयोजनामा अन्नपूर्ण गाउँपालिका–७ औलामा पनि बगैचा ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा सहभागी कृषकहरुलाई चुना, निलो तुथो, सिकेचर, आरी, स्प्रेयर, कपरपेष्ट र सुष्म तत्व (पोषण) निशूल्क वितरण गरिएको थियो । कृषि शाखाका प्रमुख कुर्मीको नेतृत्वमा नायव प्राविधिक सहायक शिवराज जैसी र सम्झना खत्रीले तालिमको सहजिकरण गर्नुभएको थियो ।
कृषि शाखाका प्रमुख कुर्मीका अनुसार यस वर्ष अन्नपूर्ण गाउँपालिकामा अनुमानित रु. चार करोड १४ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । वडा नं. –७ मा रु. दुई करोड, वडा नं. –३५ लाख, वडा नं.–४ मा रु. ३० लाख, वडा नं.–५ मा रु. ३० लाख, वडा नं.–६ मा रु. ८१ लाख र वडा नं.–२ मा रु. १० लाखको सुन्तला बिक्री भएको कृषकहरुले बताएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटा, बैसरी, कुरमुनी, हल्लेखर्क, खिम्जा, झरपाटोमा गत वर्ष रु. ६५ लाखको सुन्तला बिक्री भएकोमा यसपाली उत्पादन सँगै कृषकहरुको आम्दानी पनि बढेको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।
