
बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतिको साझापानीमा प्रथम साझापानी कप तथा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
न्यू देउराली युवा क्लवले आगामी फागुन २२ देखि २९ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको तयारीलाई तिब्र बनाएको जनाएको छ ।
२० वर्ष मुनीका खेलाडीहरुबीच हुने बाल भलिबल प्रतियोगिता, पौढ भलिबल, पुरुष भलिबल, बास्केटबल प्रतियोगिता र मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने क्लवका अध्यक्ष सन्तोष भण्डारीले जानकारी दिनुभयो ।


हाजिरी जवाफमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश रु. १५ हजार, दश हजार र पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । पुरुष भलिबलमा बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. ७५ हजार र ४० हजार, प्रौढ भलिबलमा बिजेतालाई रु. ५५ हजार पाँच सय ५५ र उपबिजेतालाई रु. ३० हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।
बाल भलिबलमा बिजेतालाई रु. ४१ हजार एक सय ११, उपबिजेतालाई २५ हजार एक सय ११, बास्केटबलमा बिजेतालाई रु. ३५ हजार र उपबिजेतालाई रु. २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका मेला संयोजक खिमबहादुर भण्डारीले बताउनुभयो । खेलकुद प्रतियोगिताका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गित तथा नृत्य प्रस्तुति रहने जनाइएको छ ।

