
बेनी, ः युवा युवतिलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनी नगरपालिकाले लोक सेवा आयोगको निशूल्क तयारी कक्षा शुरु गरेको छ ।
३० जना युवतिहरु सहभागि तयारी कक्षाको आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । बेनी नगरपालिकाका युवा युवतिहरु सहभागि तयारी कक्षा २० दिनसम्म सञ्चालन हुनेछ् ।

लोक सेवा आयोगको पाठ्यक्रममा आधारित विषयका विज्ञहरुले प्रशिक्षण दिनुहुनेछ् । लोक सेवा आयोगप्रति युवाहरुको आकर्षण र चासो बढाउन तयारी कक्षा सञ्चालन गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

निजामती सेवाका लागि लोक सेवा आयोगमा आवेदन कम पर्ने जिल्लामा म्याग्दी तेस्रो स्थानमा छ । लोक सेवा आयोगको परिक्षा र निजामती सेवामा म्याग्दीका नागरिकको उपस्थिति बढाउन तयारी कक्षा सञ्चालन गरेर युवायुवतिहरुलाई भोग जगाउन नगरपालिकाले पहल थालेको हो ।
सार्वजनिक सूचना जारी गरेर आवेदन संकलन गरि सहभागी छनौट गरिएको थियो । वैदेशिक रोजगारीको प्रभावका कारण म्याग्दीका नागरिकहरु निजामती, शिक्षा, सुरक्षा निकायको सेवा प्रवेशका लागि लोक सेवा आयोगको परिक्षामा कम सहभागी हुने गर्छन् ।
