भकिम्ली मरेकका पदमबहादुर खत्रीले बेच्नुभयो २० लाखको सुन्तला

Shreekrishna hardware

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक पदमबहादुर खत्रीले सुन्तला खेतीबाट यसवर्ष रु. २० लाख आम्दानी गर्नुभएको छ ।

भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर २१ वर्षअघि सुन्तला खेती सुरु गरेका खत्रीका बगैचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्कीरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् ।

“गत वर्ष रु. १३ लाखको सुन्तला बिक्री भएको थियो,” उहाँले भन्नुभयो “यसपाली उत्पादन बढेकाले रु. २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका ब्यापारीलाई बगैचाबाट प्रतिकिलो रु. ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताउनुभयो । खत्री म्याग्दी जिल्लामा सुन्तला खेतीबाट धेरै आम्दानी गर्ने कृषक हुनुहुन्छ । खत्री सहित मरेकका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर रु. एक करोड ५० लाख आम्दानी गरेका छन् ।

Shreekrishna

मरेकका रहेको २१ मध्य २० घरपरिवारले सुन्तला खेती गरेका छन् । प्रतिघर न्युनतम रु. एक लाख सम्मको सुन्तला बेचेका छन् । “गत वर्ष रु. ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपाली उत्पादन दोब्बरले बढेको थियो,” उहाँले भन्नुभयो “फल लाग्ने बिरुवा थपिएका, क्षेत्रफल विस्तार, दाना झर्ने समस्या कम भएको, बगैचा ब्यवस्थापन र अनुकुल मौसमका कारण सुन्तला उत्पादन बढेको हो ।”

Ban devision notice

माघको पहिलो साता सुन्तला टिपेर निख्रिएपछि कृषकहरु बगैचा ब्यवस्थापनमा जुटेका छन् । उत्तर पुर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । बर्षभरी दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरु काम र आम्दानीका लागि विदेश र सहर बजार जाने चलन थियो ।

अहिले मरेकको पाखा सुन्तला बगैचाले भरिएको छ । वर्षमा १८ मुरी धान फलाउने इन्द्रबहादुर थापाले १४ रोपनीमा गरेको सुन्तला खेतीबाट वार्षिक दश लाख रुपैयाँ सम्म आम्दानी हुने बताउनुभयो । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपाली सुन्तला बेचेर छ लाख आम्दानी गर्नुभयो ।

“सुन्तला खेती गरेपछि घरब्यवहार चलाउनका लागि विदेश जान परेको छैन,” उहाँले भन्नुभयो “जिवनस्तरमा परिवर्तन ल्याएको छ ।” अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने ब्यापारी राजन तामाङले बताउनुभयो । पोखरा, काठमाडौ, हेटौडाको बजारमा यहाँको सुन्तला खपत हुने गरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तला खेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैचा ब्यवस्थापन, साना सिचाई कार्यक्रम मार्फत कृषकहरुलाई सहयोग गरिदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।

बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गरिएको बताउनुभयो । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिचाई र प्रविधी सहयोगका लागि संघीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...