
बेनी, म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानहरुलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ ।
शुरुमै अनुदान दिदाँ कृषकहरु व्यवसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा शुरु भएको यो कार्यक्रमलाई बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा पनि निरन्तरता दिएको छ । मासु र दूधमा आत्मनिर्भर बनाउन कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा न्यूनतम १० वटा माउ बाख्रापालक कृषकलाई प्रोत्साहनका लागि रु. सात लाख ५० हजार, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु. पाँच लाख ५० हजार र पशुपंक्षी तथा माछाको बिमा प्रिमियम शूल्कमा १० प्रतिशत अनुदान दिन रु. एक लाख ५० हजार बिनियोजन गरेको छ ।

उत्पादनमा आधारित अनुदानका लागि ३० वटा बाख्रा र १९ वटा गाईभैसी फार्मले आवेदन पेश गरेका र छनौटका लागि स्थलगत रुपमा मूल्याङ्कनको क्रममा रहेको बेनी नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रदिप गौतमले बताउनुभयो । नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन कार्यविधी, २०८० बनाएको छ ।


बाख्रातर्फ १०–१४ को रु. १२ हजार, १५–१९ वटाको रु. १८ हजार, २०–२९ वटाको रु. ३५ हजार र ३० भन्दा बढीको रु. ४० हजार अनुदान पाउने व्यवस्था मिलाइएको छ । गाईभैसीतर्फ तीन देखि चार वटाको रु. १० हजार, पाँच देखि आठ वटाको रु. २० हजार, नौ देखि १३ वटाको रु. ३५ हजार र १४ भन्दा बढीको रु. ४५ हजार अनुदान पाउने मापदण्ड रहेको छ ।
पालेका पशुको संख्या र उत्पादनको आधारमा अनुदान पाउने बेनी नगरपालिकाको नीतिले कृषकहरुलाई ब्यवसायिक बन्न प्रोत्साहन मिलेको, प्रभावकारी र व्यवहारिक भएको बेनपा–४ बास्कुनाका कृषक तिलक गुरुङले बताउनुभयो । सानो संख्यामा पशु पालन गर्ने कृषकहरुलाई पनि समेट्न कार्यबिधी संसोधन गर्न उहाँले सुझाव दिनुभयो ।
गत वर्ष ३२ जना बाख्रापालक कृषकले रु. छ लाख ४४ हजार नौ सय ८० र १८ जना दूग्ध उत्पादक कृषकहरुले रु. पाँच लाख अनुदान पाएका थिए । पशुपालक कृषकलाई व्यवसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि उपज बजारको भवन निर्माण शुरु गरिएको छ ।
