बेनी । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ ।
असल छिमेकी नेपालले तीन कोठे एक तले भूकम्प प्रतिरोधी क्षमताको एक तले पक्की भवन निर्माण गरेको हो । रु. २७ लाखको लागतमा भवन, शौचालय, प्रवेशद्धार निर्माणका साथै औषधी र उपकरण उपलब्ध गराएको असल छिमेकी नेपालका अध्यक्ष मुक्तिनाथ ढकालले बताउनुभयो ।
भवनमा बिरामीको स्वास्थ्य परिक्षण, परामर्श, औषधी भण्डारण र प्रशासनिक कक्ष रहेको छ । यसअघि साघुरो सामुदायिक भवनबाट केन्द्र सञ्चालन हुदै आएको थियो । भूकम्पले चर्कीएर जिर्ण बनेको पुरानो भवन पहिरोको पनि जोखिममा थियो ।
सो सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाडाखेत, वडा नं. ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं. ६ को छापका बासिन्दाहरुले सेवा लिने गरेका छन् । नयाँ भवन निर्माण भएपछि सहरी स्वास्थ्य इकाईको सेवा प्रवाह गर्न स्वास्थ्यकर्मी र सेवा लिन सर्वसाधारणलाई सहज भएको छ ।
वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने बस्तिहरुलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं. ४ को सिंगा र वडा नं. ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परिक्षण, परामर्श, खोप सेवा प्रवाह हुन्छ ।
भवनको बुधबार बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामीछाने, असल छिमेकी नेपालका अध्यक्ष मुक्तिनाथ ढकालले उद्घाटन गर्नुभयो । नगरप्रमुख केसी र उप्रमुख लामिछानेले भवन निर्माणमा सहयोग गर्ने संस्था र निर्माण समितिलाई धन्यवाद दिनुभयो ।
बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानिया, भवन निर्माण समितिका अध्यक्ष गिरेन्द्र बानिया, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारी, पोखरा क्रिस्चिन समाजका अध्यक्ष कालु तामाङ र स्थानीय मुक्तिबहादुर खड्काले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासले गर्नुभएको थियो ।