जोमसोम ः जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा बिहिबार बिहान आगोलागी हुँदा एक जना घाइते भएका छन् ।
जोमसोम स्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगोलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते हुनुभएको हो ।
हात र औलामा आगोले पोलेर घाइते हुनुभएका तिवारीलाई उपचारका लागि पोखरा लगिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।
तिवारी आगोलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्कनु भएको थियो । बिहान १.४० बजेको समयमा आगोलागी भएको थियो । प्रहरी, कर्मचारी र स्थानीयबासीहरुले आगोलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत चुहावटका कारण आगोलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताउनुभयो ।