लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १८ औ गाउँसभा आइतबार लामाखेतमा सम्पन्न भएको छ ।
सभाले चालु आर्थिक वर्षका लागि स्विकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ । विभिन्न विधेयक र ऐन पारित गरेको छ । सभामा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले चालु आर्थिक बर्षको साउन देखि पुष महिना सम्मको बजेट तथा योजना कार्यान्वयनको अवस्था समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपाध्यक्ष दिपक आचार्यले बजेट संसोधन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि चालु शिर्षकमा रु. ३६ करोड ७८ लाख ६१ हजार बिनियोजन भएकोमा हालसम्म रु. १३ करोड ४५ लाख ४७ हजार खर्च भएको छ । पुँजिगत तर्फ रु. १३ करोड ४५ लाख ५२ हजार मध्य रु. दुई करोड १२ लाख पाँच हजार खर्च भएको छ ।
जलजलाले आर्थिक वर्षको छ महिनाको अवधिमा रु. ७५ लाख २५ हजार राजस्व संकलन गरेको छ । विषयगत शाखाहरुबाट भएका कामको पनि समिक्षा गरिएको थियो । पूर्वाधार, प्रशासन, राजस्व, शिक्षा, पशु सेवा, सामाजिक विकास, रोजगार सेवा केन्द्र, न्यायिक समिति, वन वातावरण तथा विपद् व्यवस्थापन, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र सचिवालयबाट भएका प्रमुख कार्यहरुको विवरण सार्वजनिक भएको थियो ।
जलजला गाउँपालिकाले सञ्चालन गरेको निशूल्क एम्बुलेन्स सेवाबाट हालसम्म एक सय ६० जनाले निशूल्क र एक सय ३३ जनाले सशूल्क सेवा लिएका छन् । एम्बुलेन्स प्रयोगकर्ताहरुबाट रु. चार लाख ७७ हजार आम्दानी भएको छ ।
न्यायिक समितिमा १७ वटा उजुरी परेका छन् । लामाखेतमा कर्मचारी आवास तथा स्टोर भवनको तेस्रो चरणको ठेक्का सम्झौताको तयारी भएको, वारीबेनी भुर्तुला सडक स्तरोन्नति गरिएको, मल्लाजमा आधारभूत अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको र दमुवाखोलामा चिस्यानगृहको भवन निर्माणाको तय\री भएको छ ।
धाइरिङमा गण्डकी गोपाल गौशालाको संरचना विस्तारको काम गर्न ठेक्का सम्झौताको तयारी भएको, बस्ति बास्बोट गौशाला सडक स्तरोन्नतिको सम्झौता भई निर्माणको चरणमा रहेको छ । उपभोक्ता समिति मार्फत सम्पन्न भएका योजनाहरुको नापजाँच, मूल्याङ्कन र अनुगमन गरी भुक्तानीको प्रक्रीया अगाडी बढाइएको बताउनुभयो ।
सभाले जलजला गाउँपालिका नगरप्रहरी सञ्चालन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक २०८१ पनि पारित गरेको छ ।