बेनी, ः बेनी नगरपालिका–८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पस भवन निर्माणको १२ वर्षपछि उद्घाटन भएको छ ।
भारत सरकारको सहयोगमा १२ वर्षअघि निर्माण भएको क्याम्पस र छात्रावास भवन सोमबार नेपालस्थित भारतीय राजदुतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । दुतावासको समय व्यवस्थापन मिलाउदा उद्घाटन ढिलाई भएको बताइएको छ ।
भारत सरकारको दुई करोड ७९ लाख सहयोगमा १६ कोठे दुईवटा कक्षाकोठा भवन र आठ कोठे छात्रावास भवन निर्माण भएको थियो । भवन निर्माण भएर नियमित पठनपाठन हँुदै आए पनि सोमबार औपचारिक रुपमा उद्घाटन र हस्तान्तरण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।
यस क्याम्पसमा ०६७ देखि भवन निर्माण सुरु भएको थियो भने ०६९ सालमा निर्माण सम्पन्न भएको थियो । तत्कालिन क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदीका अनुसार भवन निर्माणको ठेक्का आह्वान गर्दा जिल्ला विकास समितिले भ्याट बराबरको रु. ३९ लाख रकम व्यहोरेको थियो । भारत सरकारकै सहयोगमा क्याम्पसमा कम्प्युटर ल्याबको फर्निचरसमेत व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा राजदुतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटा सहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएका जानकारी दिनुभयो । नेपालको विकासको प्रमुख साझेदार राष्ट्र भारतबाट शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएर परियोजना सञ्चालन भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी क्याम्पसलाई पूर्वाधारसँगै प्रबिधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँहरुले भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि मुर्ति बनाउन दुई वर्षअघि लगिएका शिलाको उत्खनन् स्थल कालिगण्डकी नदी किनारलाई देभशिला स्मारक स्तम्भ र स्नान स्थलको रुपमा विकास गर्न लागिएको जानकारी गराउदै त्यसका लागि भारत सरकारसँग सहयोगको अपेक्षा गर्नुभयो ।
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले आठ सय ९७ जना विद्यार्थी अध्ययरत क्याम्पसमा निर्माण भएको भवनले पठनपाठनमा सहज भएको बताउनुभयो । समुदाय स्तरबाट वि.स. २०४८ मा स्थापना भएको म्याग्दी क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी संकायमा स्नाकोत्तर तह सम्मको अध्यायन हुन्छ ।