सन्तोष गौतम
बेनी, ः वि.स. २०५७ मा साउदी अरबमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरब्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।
विदेशमा सोचेजस्तो कमाई नभएपछि घर फर्केका तिलकको अन्य आम्दानीको स्रोत थिएन् । “वि.स. २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभैसी पाल्नुका साथै खेतबारीमा सुन्तलाका बिरुवा लगाए,” उहाँले भन्नुभयो “कुखुरा, अण्डा र गाईभैसीको दूध बेचेर घरब्यवहार चलाउने र छोराछोरीलाई इन्जिनियर, स्टाफ नर्स र कानुन ब्यवसाय पढाए ।”
तिलककी जेठी छोरी यास्ना गुरुङ मेडिकल इन्जिनियर, माइली दिब्या स्टाफ नर्स, साइली सोनिया अधिवक्ता हुनुहुन्छ । तीनै बहिनी हाल अस्टे«लीयामा छन् । काइली साकिरा आर्किटेक्ट इन्जिनियर, कान्छी निलिमया स्टाफ नर्स र छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरको स्नातक तहको पढाईलाई अन्तिम चरणमा पु¥याएका छन् ।
तीन सय ५० बोटमा फलेका सुन्तलालाई यसपाली रु. १४ लाखमा बोटबाट नटिप्दै ब्यापारीलाई ठेक्कामा बेचेका गुरुङ कृषि पेशाबाट आर्थिक र सामाजिक पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले जिल्ला र केन्द्रिय स्तरको कृषि उद्यमी पुरस्कार पनि पाउनु भएको छ ।
हाल १२ वटा गाईभैसी पालेका गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्नुहुन्छ । तिलक, श्रीमति तिलकुमारी र अन्य दुई जना कामदार कृषि फार्मको काममा ब्यस्त हुन्छन् । बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका तिलकले बास्कुनालाई ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) बनाउने अभियानको अगुवाई गर्नुभएको थियो ।
“बास्कुनाका १६ घर सबैले सुन्तला लगाएका र गाईभैसी पालेका छन, यसपाली रु. एक करोड ५० लाख बराबरको सुन्तला बिक्री हुने अनुमान गरेका छौ,“ गुरुङले भन्नुभयो “दैनिक तीन सय लिटर भन्दा बढी दूध बेनीमा बिक्री हुन्छ । दुई दशकअघि गरेको एफ एम भिलेज बनाउने परिकल्पना पुरा भएको छ ।”
बास्कुना, सुर्केमेला र थामडाडाका चालीस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । करिब पचास हजार उत्पादन दिने सुन्तलाका बोट छन् । पुर्व फर्किएको बास्कुना गाउँभरि सुन्तला खेती छ । लटरम्म फलेका सुन्तलाले गाउँ रंगिएको छ । सुन्तला बगैचा अवलोकनका लागि कृषक समूह र पाहुनाहरु बास्कुना पुग्छन् ।
खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तला खेती गरेका कृषकको जिवनस्तरमा परिवर्तन आएको छ । कृषक भिम गुरुङले गत वर्ष रु. पाँच लाखको सुन्तला बेचेका कृषकले यसपाली रु. दश लाख बराबरको फलाएका बताउनुभयो । नयाँ बिरुवा थपिएका र फल राम्रो लागेकाले उत्पादन बढेको गुरुङले बताउनुभयो ।
सुन्तला बिक्री गरेर एक जना कृषकले रु. एक लाख देखि १४ लाख सम्म आम्दानी गर्छन् । बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादीलो हुने सुन्तला ब्यापारी सुदर्शन गौतमले बताउनुभयो । नारायणघाट, काठमाडौ र नुवाकोटमा सुन्तला लैजाने गरेको उहाँले बताउनुभयो ।
मूल्यमा एकरुपता कायम गर्न, कृषकको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि र कृषक समुहले सुन्तलाको प्रतिकिलो न्युनतम रु. ८५ मूल्य कायम गरिएको बेनी नगरपालिका–४ का वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो । गत वर्ष रु. ८० प्रतिकिलो सुन्तलाको मूल्य कायम भएको थियो ।
“यसअघि मंसिरमा रंग र गुलीयो नपस्दै सुन्तला बजार पठाउदाँ नराम्रो सन्देश गएको थियो । कृषकले ब्यापारीले जति भने त्यती मूल्यमा सुन्तला बेच्ने गरेका थिए,” उहाँले भन्नुभयो “गत वर्षदेखि कृषकले समान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादीलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौ ।”
कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैचा व्यवस्थापन गर्ने औजारका साथै झ¥याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने पलास्टिकको थैलो लगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।
प्रदेश सरकार मार्फत तीन वर्षअघि बास्कुना, सुर्केमेला र थामडाडाका लागि बालमखोला सिचाई आयोजना निर्माण भएको थियो । सिचाई सुविधा भएपछि सुन्तला खेती गरेका कृषकलाई सहज भएको छ । बेनी–थामडाडा–बरंजा सडक स्तरोन्नति नहुनु, बाँदर आतंक र सुन्तलाको दाना झर्ने समस्या मुख्य चुनौतिका रुपमा देखिएको कृषकहरुले बताएका छन् ।
कृषक समेत रहेका वडा सदस्य खत्रीले बेनी–थामडाडा सडक स्तरोन्नतिका लागि यसपाली प्रदेश सरकारबाट बजेट बिनियोजन भएको, सिचाई आयोजनाको क्षमता विस्तार गर्न पहल गरेको र दाना झर्ने समस्या समाधानका लागि कृषि निर्देशनालयसँग समन्वय गरेको बताउनुभयो ।