बेनी, ः बेनी नगरपालिकाको बिहिबार सम्पन्न १६औ नगरसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ७४ करोड ७० लाख ९८ हजार बराबरको संसोधित बजेट पारित गरेको छ ।
नगर प्रमुख सुरत केसीको अध्यक्षतामा भएको सभामा उपप्रमुख ज्योति लामिछानेले गत आर्थिक वर्षको खर्च हुन बाँकी रहेको रु. एक करोड ६० लाख बजेट विभिन्न ४० वटा शिर्षकमा बिनियोजन गर्ने र २८ वटा शिर्षक बिनियोजन भएको रु. ८३ लाख बजेट संसोधनको प्रस्ताव गर्नुभएको थियो ।
सडक मर्मत, पदमार्ग, बस्ती संरक्षण, स्वास्थ्य चौकी मर्मत, विपन्न आवास विस्तार, नाली तथा शौचालय निर्माण लगायतका विभिन्न योजनाहरू रहेका छन् । नगर सभामा नगर स्तरीय सम्भाव्यता अध्ययनका लागि ९ लाख ५० हजार, विपन्न आवास निर्माणमा ५ लाख सहित समपूरक कोषमा समेत बजेट विनियोजन गरिएको छ ।
संशोधित योजनाहरूमा वडा स्तरीय विकास निर्माण, आयआर्जन, पदमार्ग, विपद्जन्य सहयोगका साथै शिक्षा, स्वास्थ्य र समुदाय स्तरबाट गरिएको मागमा आधारित रहेको छ । बजेट र योजना तथा कार्यक्रम संसोधन गर्ने प्रस्ताव पारित भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
गत असार ७ गतेको नगरसभाबाट चालु तर्फ रु. ५३ करोड छ लाख ९८ हजार र पुजिगत तर्फ रु. १९ करोड ७१ लख १५ हजार गरि कुल रु. ७२ करोड ७८ लाख १३ हजार बजेट पारित भएको थियो । बिहिबारको सभाबाट बेनी नगरपालिकाको चालु आर्थिक वर्षको पँुजिगत बजेट रु. २१ करोड ३१ लख १५ हजार र चालु तर्फ रु. ५३ करोड ३९ लाख ८३ हजार कायम गरेको हो ।
आर्थिक वर्षको पाँच महिनाको अवधिमा चालु शिर्षकमा बिनियोजन भएको मध्य रु. १९ करोड २० लाख ८४ हजार अथवा ३५.९७ र पुजिगत शिर्षकमा बिनियोजन भएको मध्य आठ दशमलब चार प्रतिशत अथवा रु. एक करोड ६५ लाख ६२ हजार खर्च भएको नगर उपप्रमुख लामिछानेले सभामा जानकारी गराउनुभएको थियो ।
रु. चार करोड ५२ लाख ४० हजार आन्तरिक आम्दानी हुने प्रक्षेपण गरिएकोमा पाँच महिनाको अवधीमा रु. एक करोड १९ लाख ९१ हजार अथवा २६ दशमलब ५० प्रतिशत राजस्व संकलन भएको छ । नगरपालिकाले बजेट बिनियोजन गरेका वडा स्तरीय एक सय ६० वटा योजना मध्य एक सय २९ वटाको सम्झौता र २८ वटा सम्पन्न भएका छन् ।
नगर स्तरीय ३३ वटा मध्य ११ वटा ठेक्का प्रक्रीया र बाँकी उपभोक्ता समिति मार्फत कार्यान्वयनको प्रक्रियामा रहेका छन् । नगर सभामा ६ वटा विषयगत समिति आर्थिक, सामाजिक, पूर्वाधार, सेवा प्रवाह तथा सुशासन, बन तथा वातावरण तथा विपद् समिति र न्यायिक समितिले आफ्नो कार्य प्रगति प्रस्तुत गरेका थिए । नगर सभामा सम्बोधन गदैं नगर प्रमुख केसीले वडा स्तरबाट प्राथमिकता साथ आएका योजनाहरूलाई पारित गरिएको बताउँदै बजेट कार्यान्वयन समेत सन्तोषजनक हुनुपर्ने बताउनुभयो । नगर सभा सदस्यले बजेट विनियोजन तथा विविध विषयमा आफ्नो भनाई राखेका थिए ।