बेनी ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको ‘दिर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
नसर्ने रोग पहिचान र उनिहरुको उपचारमा पहुँच बढाउने तथा जनचेतना अघिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले मङसिर २५ गते ताकमबाट शुरु गरेको कार्यक्रम मङगलबार मल्कवाङमा समापन गरिएको छ ।
सात वटा वडामा एक÷एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रम मार्फत आठ सय १६ जना विभिन्न रोगका बिरामीहरुले सेवा पाएका धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सम्झना खाती कार्कीले बताउनुभयो ।
ताकममा एक सय छ, मुदीमा एक सय २५, मुनामा एक सय १५, लुलाङमा एक सय ३५, मराङमा एक सय १५, मल्कवाङमा एक सय १५ र गुर्जामा एक सय ३५ जनाले सेवा पाएका छन् ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौति बनेको नसर्ने रोग न्युनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
“भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “प्रयोगशालाका सामग्री, उपकरण, औषधी र चिकित्सक सहितको टोली गाउँ गाउँमा पुगेर सेवा दिएका छौ ।”
कार्यक्रम मार्फत चिकित्सक सहितको टोलीले स्वास्थ्य परिक्षण, परामर्श, प्रयोगशाला र निशूल्क औषधी वितरण सम्बन्धी सेवा प्रदान गरिएको छ । मुटु, मृगौला, मधुमेह, उच्चरक्तचाप लगायत रोगीहरुलाई पहिचान गर्ने र उनिहरुलाई निशूल्क औषधी वितरण गरिएको छ ।
। बेनी अस्पतालका चिकित्सक डा. रामु सापकोटा, समिर भण्डारी र रोजिना कटुवाल सहितको टोलीले सेवा दिएको छ । धवलागिरी गाउँपालिकामा ७ वटा वडा छन् । सवै वडामा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।