बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले निजी विद्यालयहरुले कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई ६ वटाभन्दा धेरै किताब नबोकाउन र ६ पिरियड बढी कक्षा सञ्चालन नगर्न सुझाव दिनुभयो । उहाँले निजी शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार तीनसय रुपैयाँ उपलब्ध गराउनुपर्ने बताउँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नगर प्रमुख केसीले विद्यालय उमेर समूहका बालबालिकाहरु विभिन्न प्रकृतिका कुलतहरुमा फस्न सक्ने सम्भावना रहेको बताउँदै अभिभावकहरु सबैले आ–आफ्ना बालबालिकाहरुलाई विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर चापागाईँले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै यस कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
बेनी नगरपालिका–८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले २१ वर्षको दौरानमा लिटिल गार्डेनले शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउँदै कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई हप्ताको २ पटक उत्प्रेरणामूलक तथा आध्यात्मिक कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाईजेशन (प्याब्सन) म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले नेपालको समग्र शैक्षिक क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि निजी विद्यालयहरुले विशेष भूमिका खेलेको स्मरण गर्नुभयो ।
विद्यालयका संस्थापक÷निर्देशक बालकृष्ण सुवेदीले लिटिल गार्डेन एकेडेमीले जिल्लामै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताउँदै यसलाई आगामी दिनमा पनि कायम राख्दै निरन्तरता दिइने बताउनुभयो । उहाँले अभिभावक र विद्यार्थीहरुको चाहनाअनुसार भविष्यमा विद्यालयलाई थप अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउनुभयो । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी, निवर्तमान क्याम्पस प्रमुख गोरखबहादुर जिसी, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष टेकप्रसाद सापकोटा, अभिभावक ठाकुरप्रसाद शर्मा र विद्यार्थी दिक्षा पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा गत शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यालयको तर्फदेखि सहभागी भई उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम हुने विदिशा सुुवेदी, विद्यालयतर्फ द्वितीय सुशान्त सुवेदी र तृतीय प्रज्ज्वल बरुवाललाई दोसल्ला ओढाएर नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई पनि सम्मान गरेको जनाएको छ ।
विद्यालयका प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षता र शिक्षक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीद्वय प्रशान्त सुवेदी र सुप्रभा जिसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरुले मौलिक नृत्य र शिक्षक तथा विद्यार्थीहरुले समेत आ–आफ्नो नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।