सनमलाई विद्यालयको साथ ः सहयोगका लागि जुटे साथीहरुका हात

khali

धु्रवसागर शर्मा
बेनी, २२ औं जेसिज कप फुटबल प्रतियोगिताको अन्तिम दिन (मंसिर २२ गते) बिहान ९ बजेदेखि माउण्ट एभरेष्ट आवासीय मावि र जनप्रिय मावि दरबाङको सेमिफाइनल हुने खेल तालिका थियो । बिहान करिव सात बजे माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसीलाई टिम क्याप्टेन सनम विकका बुबाको देहान्त भएको खबर आयो ।
माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १० मा अध्ययनरत १७ वर्षिय सनम बिक टिमको नेतृत्व गरेर खेल मैदानमा जाने तयारी गर्दै थिए । उनलाई त्यतिबेलासम्म बुबाको मृत्यु भएको छ भन्ने खबर थिएन । प्रिन्सिपल केसीले खबर थाहा पाए पछि सनमलाई यो खबर सुनाउँ वा नसुनाउँ भन्ने निधो गरिसक्नुभएको थिएन । त्यति नै खेर सनमका तीनजना साथीहरु सनमलाई लैजानका लागि विद्यालयमा नै आए । प्रिन्सिपल केसीले उनीहरुलाई आफूसँग बोलाउनुभयो र सनमलाई आँफैले बताउने भनेर उनीहरुलाई फर्काइदिनुभयो । उनीहरु त गए । तर,प्रिन्सिपल केसीको मनमा कसरी बताउने भन्ने विषयमा अन्तरद्धन्द्ध चल्न थाल्यो ।
सनमको घरमा बुबाको मृत शरिर अन्तिम संस्कारका लागि छोराको प्रतिक्षामा छ । यता विद्यालयको प्रतिष्ठा र सनमको भविष्यसँग जोडिएको प्रतियोगिताको ट्रफीले उनलाई पर्खीरहेको छ । एकातिर शोकको चकमन्नता अर्कोतिर सम्भावनाको उज्यालो । प्रिन्सिपल केसी धर्मसङ्कटमा पर्नुभएको छ । विद्यालयलाई जिताउनु पनि पर्ने र त्यसको लागि खेलाडी सनम चाहिने र बुबाको अन्तिम संस्कार पनि गर्नुपर्ने त्यसका लागि पुत्र सनम चाहिने अनिवार्यताका बिच तत्कालै निर्णय गर्नुपर्ने वाध्यतामा प्रिन्सिपल केसी पर्नुहुन्छ । यस्तो अवस्थामा पनि बुद्धिमत्तापूर्ण युक्ति उँहाको मस्तिष्कमा फुर्दछ । उहाँले पहिला सनमलाई सम्झाउनुहुन्छ । कर्तव्याकर्तव्यको बोध गराउनुहुन्छ । सनमलाई खेल्नका लागि मैदानमा उत्रने साहस प्रदान गर्नुहुन्छ र मनाउनुहुन्छ । त्यसपछि सनमकी दिदीलाई फोन गरेर डेढ दुई घण्टा पछि सनमलाई आँफैले लिएर आउने कुरामा कन्भिन्स गर्नुहुन्छ र सनम सहित खेलाडीलाई लिएर खुलामञ्चको खेलमैदानमा पुग्नुहुन्छ ।
खेल सुरु हुन्छ । सनमले नेतृत्व गरेको माउण्ट एभरेष्टका खेलाडीहरुले जनप्रिय माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्छन् । आयोजकले फाइनका लागि दिउँसो २ बजेको समय निर्धारण गरेका हुन्छन् । बेनी सामुदायिक माविसँग कडा प्रतिष्पर्धा गर्नु पर्ने वाध्यतामा रहेको माउण्टका क्याप्टेन सनम शोकमा छन् । बुबाको मृत्युको पीडाले उनी छट्पटाइरहेका छन् । बुबाको अन्तेष्टीका लागि कतिबेला घरमा पुगूँ उनलाई भइरहेको छ । उनी नखेल्ने हो भने जित्ने सम्भावना अत्यन्त कम छ । यस्तो अवस्थामा सनमलाई मनाएर मैदानमा छिराइ खेल जितेपछि प्रिन्सिपल केसीले सनमलाई घाटमा लगेर मुण्डन गराई बुबाको अन्तेष्टीका लागि घरमा पु¥याउनुहुन्छ । जितको उत्सव आँशु र खुसीको मिश्रण बन्दछ ।
झट्ट सुन्दा चलचित्रको कथा जस्तै लाग्ने यो वास्तविकता माउण्ट एभरेष्ट आवासीय मावि र विद्यार्थी सनम विकको हो ।
उनै सनम जसले बुबालाई गुमाउनु पर्दाको शोकमा पनि आफ्नो कर्तव्यलाई भुलेनन् । पुत्र कर्तव्य र छात्र कर्तव्यलाई समान ठानेर आँशु पुछ्दै फुटबल खेलेर विद्यालयलाई विजयको ट्रफी दिलाएका सनमलाई आइतबार विद्यालयले घरमा नै पुगेर रु ४२ हजार ८ सय २५ आर्थिक सहयोग गरेको छ । शिक्षक र विद्यार्थीहरुको तर्फबाट संकलित उक्त रकम विद्यालयको तर्फबाट सुनिता केसीले सनमका आफन्तलाई हस्तान्तरण गर्नुभएको थियो ।
सरल,इमान्दार,अनुशासित र पढाइमा पनि लगनशील सनमलाई विद्यालयले निशुल्क आवासीय सुविधा सहित कक्षा १२ सम्म पढाउने विद्यालयका प्रिन्सिपल केसीले बताउनुभयो । “सनमको लागि खेल र पढाइको क्षेत्रमा अनेकौं संभावनाहरु छन् । विद्यालयले सनमलाई हरेक कुरामा सहयोग गर्छ । उनको भविष्यका लागि म व्यक्तिगत रुपमा र सम्पूर्ण विद्यालय परिवार उनको साथमा छ” प्रिन्सिपल केसीले भन्नुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...