बाबियाचौर, म्याग्दीको मङ्गला गाउपालिका–२ बाबियाचौरमा आइतबार सम्पन्न दोस्रो म्याग्दी कप भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश, बेनी सामुदायिक, शिख मावि र डनिङ आवासीय माविले जितेका छन् ।
म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र, छात्रा, शिक्षक र शिक्षिकाहरुको ६२ समुहले सहभागिता जनाएका थिए । २० वटा विद्यालय सहभागि छात्र भलिबल प्रतियोगितामा अन्नपूूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश मावि बिजयी भएको छ ।
साविक बिजेता प्रकाश माविलाई एकका विरुद्ध तीन सेटले पछि पार्दै ज्ञानप्रकाशले उपाधी जितेको हो । पहिलो सेटमा २५–१७ को अन्तरमा पराजित भएको ज्ञानप्रकाशले दोस्रो, तेस्रो र चौथो सेटमा प्रकाश माविलाई २५–२३, २६–२८ र २२–२५ का अन्तरमा पराजित गरेको थियो ।
१३ वटा विद्यालयले सहभागिता जनाएको छात्रा भलिबलमा म्याग्दी बहुुमुखी क्याम्पसलाई सोझो तीन सेटमा हराउदै बेनी सामुदायिक माविले उपाधी चुमेको हो । २५–१७, २५–५ र २५–२२ को अन्तरमा म्याग्दी क्याम्पसलाई बेनी सामुदायिकले पराजित गरेको थियो ।
छात्र र छात्रा भलिबलको बिजेता र उपबिजेतालाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. ५० हजार र २५ हजार नगद पुुरस्कार प्रदान गरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजिन्द्र बानियाले जानकारी दिनुभयो ।
२० वटा विद्यालयका शिक्षक सहभागि प्रतिस्पर्धामा साविक बिजेता डनिङ आवासीय मावि बाबियाचौरले किसानी मावि बिमलाई सोझो दुई सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको छ । १३ विद्यालयका शिक्षिका सहभागि प्रतियोगितामा साविक बिजेता शिख माविले माउन्ट एभरेष्ट आवासीय माविलाई सोझो दुई सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको छ ।
शिक्षक र शिक्षिकाहरुको भलिबल प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. २५ हजार र १३ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले बताउनुभयो ।
छात्रतर्फ ज्ञानप्रकाश माविका सफल गुरुङ, छात्रातर्फ बेनी सामुदायिककी समिक्षा थापालाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद रु. पाँच हजारका दरले पुरस्कृत गरिएको थियो । बेनी सामुदायिकका प्रविन श्रेष्ठ, ज्ञान प्रकाशका भिम बरुवाललाई उत्कृष्ट प्रशिक्षक, शिक्षकतर्फ डनिङका अनित बुढाथोकी र महिला शिक्षकमा शिख माविकी हेमा पुर्जालाई उत्कृष्ट खेलाडी घोषणा गरि जनही रु. तीन हजार सहित पुरस्कार प्रदान गरिएको छ ।
बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रदेश सांसद जुग्जालीले म्याग्दीमा भलिबल खेलप्रति क्रेज रहेको बताउदै भलिबल खेल सञ्चालनका लागि ब्यवस्थित कवर्डहल बनाउन आवश्यक रहेको बताउनुभयो । प्रतियोगिको मुुख्य प्रयोजक गौमती खत्री विकास कोष रहेको छ । मंगला गाउँपालिकाले रु. ५० हजार सहयोग गरेको छ ।
जिल्ला भलिबल संघले स्थापना गरेको रु. ४७ लाखको अक्षयकोषमा प्रतियोगिताबाट बचत भएको रु. तीन लाख थप गर्ने र कोषलाई रु. एक करोडको बनाउने तयारी गरेको अध्यक्ष बानियाले बताउनुभयो । आगामी पाँच वर्षका लागि गंगा जिसी फाउण्डेशनका संस्थापक नारायण र किसान जिसीले छात्रा भलिबलको प्रथम पुरस्कार वापत रु. ५० हजारका दरले सहयोग गर्ने घोषणा गर्नुभयो । –