बेनी ः नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितहरुलाई सिपमुलक तालिम सञ्चालन भएको छ ।
प्राधिकरणको वातावरण विभागको आयोजनामा हलुका सवारी चालक र जडिवुटी खेती सम्बन्धी तालिम सञ्चालन भएको हो ।
बेनीमा तीन दिन सञ्चालन भएको जडिवुटी खेती सम्बन्धी तालिममा १८ जना सहभागी भएका डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रशासकीय अधिकृत मातृकाप्रसाद तिमिल्सीनाले बताउनुभयो ।
तालिमको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारी र वन अधिकृत चन्द्रमणी सापकोटाले सहजिकरण गर्नुभएको थियो । मङसिर २३ देखि शुरु भएको सवारी चालक प्रशिक्षणमा १५ जना सहभागि भएका छन् ।
यसअघि गत जेठ–असार महिनामा सम्बन्धीत वडा कार्यालयको सिफारिसमा १५ जनालाई हाउस वायरिङ सम्बन्धी ६५ दिने तालिम दिइएको थियो । स्थानीय बजारमा आवश्यक पर्ने सिपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजनाका प्रशासकीय अधिकृत तिमिल्सीनाले बताउनुभयो ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण स्थल हुन् । मालिका गाउँपालिका–७ डाडाखेत र रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा सवस्टेशन निर्माणाधिन छन् ।
मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि चार वर्षअघि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन निर्माण गर्न लागिएको हो ।