लोप्रे, ः पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा निर्माण शुरु भएको १३ वर्षमा पनि खानेपानी आयोजनाले पुर्णता पाएको छैन् ।
जलजला गाउँपालिका १– मलगाउँ, वडा नं. २ को आरुबोट, वडा नं. ५ को डाडाकटेरी, बनमडे, लोप्रे, फलामेडाडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने उद्देश्यले वि.स. २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण शुरु भएको थियो ।
जलजला गाउँपालिका–५ का वडा अध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट ब्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माणको काम डेढ ढशकसम्म पनि पुरा हुन नसकेको बताउनुभयो । “रु. तीन करोड भन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा रु. दुई देखि पाँच लाखका दरले मात्र बजेट आउदाँ निर्माणले गति लिन नसकेको हो,” उहाँले भन्नुभयो “हालसम्म प्राप्त भएको रु. ५० लाख खर्चेर बनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ ।”
संघीयता कार्यान्वयन शुरु नहुदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । प्रदेश सरकारमा हस्तान्तरण नभएपछि योजनाले निरन्तरता पाएपनि बजेट पर्याप्त आएन् । खानेपानी सुविधाको आशमा रहेका बासिन्दाहरु निराश भएका जलजला कुकुुरचिहान खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताउनुभयो ।
“खानेपानीको आशै आशमा १३ वर्ष बित्यो,” उहाँले भन्नुभयो “निर्माण गरेका इन्टेक, रिजर्भ टंकी र धाराहरु पनि पानी नआउदै जिर्ण भएका छन् ।” म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जङगलको मुहानको पानी संकलन गरेर घरघरमा धारा बनाएर बितरण गर्ने योजनाको लक्ष्य छ ।
स्थानीयबासीले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर, कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन् । खानेपानीको असुविधाका कारण स्थानीयबासीको दैनिकी प्रभावित भएको स्थानीयबासी पुुर्ख पुुर्जा पुनले बताउनुभयो । आयोजनाले समेटेको फलामेडाडा पर्यटकीय स्थल पनि हो ।
चालु आर्थिक वर्षमा भने तीन वटा शिर्षकमा सो आयोजनाका लागि रु. दुई करोड १० लाख बजेट बिनियोजन भएको छ । प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई रु. दश लाख बिनियोजन गरेको छ । संघीय खानेपानी मन्त्रालयले जलजला बृहत खानेपानी आयोजना १, ५ र ७ र बाँसखर्क कुकुरच्यान जलजला १–५ को शिर्षकमा रु. एक÷एक करोड बिनियोजन गरेको छ ।
संघीय र प्रदेश सरकारको खानेपानी आयोजना कार्यान्वयनको विषयमा सोमबार जलजला गाउँपालिका, वडा कार्यालय, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना र उपभोक्ता संस्था तथा उपभोक्ताहरुबीच छलफल एवम् निरिक्षण भएको छ ।
संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय कास्कीका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर पदमबहादुर कुँवर, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, डिभिजन ईञ्जिनियर कुलप्रसाद पौडेल, वडा अध्यक्ष तिलक जिसी लगायतको टोलीले आयोजनाको निरिक्षणका साथै उपभोक्ताहरुसँग छलफल गर्नुभएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष आचार्य र वडा अध्यक्ष जिसीले संघीय र प्रदेश सरकारबाट प्राप्त भएको बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरि कार्यान्वयन हुुने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभयो । आयोजनाका प्रमुख कुँवरले आयोजना अनुसार काम र क्षेत्र बाँडफाड गरेर निर्माण गरिने बताउनुभयो ।