घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
चालु आर्थिक बर्ष २०८१÷०८२ मा पहिलो चौमासिकमा गाउँपालिकाबाट सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायत विषय माथी सार्वजनिक सुुनुवाई कार्यक्रम गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार ,चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्विकृत भएका एक सय ३० वटा योजनाहरु मध्ये हाल सम्म ११ वटा योजनाहरु सम्झौता भइसकेका छन् । अधिकाँश योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठनको काम अन्तिम चरणमा पुगेको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिकमा चालुतर्फ पाँच करोड ७३ लाख ९४ हजार आठ सय चौध र पुँजिगततर्फ दश लाख ६३ हजार पाँच सय ९४ रुपैयाँ गरी कुल ५ करोड ८४ लाख ५८ हजार चार सय ९ रुपैयाँ खर्च भएको प्रमु्ख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले पोखरेबगर–घार–चित्रे–घोडेपानी सडकका विभिन्न ठाउँमा पहिराले अवरोध बनाएको सडक मर्मत र स्तरोन्नती गर्न, घोडेपानी देखि उल्लेरी जोड्ने सडकलाई पुर्णता दिन, कृषि एम्बुलेन्सलाई कृषकको हितमा हुनेगरी उपयोग गर्न,पोखरेबगर–बैसरी सडकलाई स्तरोन्नती गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी, गाउँपालिकाको विभिन्न बस्तीमा बढ्दो बाँदर आतङ्क नियन्त्रण गर्न, चालु आर्थिक वर्षका लागि स्विकृत योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न, बजेट निर्माण गर्दा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने तथा गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, गाउँपालिकाको केन्द्र पोखरेबगरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न, फोहोर व्यवस्थापन गर्न र गाउँपालिकाबाट लिइने करको दर कम गर्न लगायत माग गरेका थिए ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकका विभिन्न खण्डमा पहिरोले निम्ताएको समस्यालाई समाधान गर्न सम्बन्धीत योजना कार्यान्वयन कार्यालय र निर्माण व्यवसायीको निरन्तर ध्यानाकर्षण गराएको र पालिकाले समेत विपद् व्यवस्थापनबाट सडकलाई मर्मत गर्न पहल थाल्ने बताउनुभयो ।
उहाँले पालिकाको आन्तरिक आम्दानीको स्रोत बढाउन पालिकाले करको दायरालाई फराकिलो बनाउने नीति लिएको बताउँदै कृषि, पशुुपाल, शिक्षा स्वास्थ्य र पुर्वाधार विकास गाउँपालिकाको प्रथामिकतामा रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय शर्माले गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणको लागि जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्काले घोडेपानीदेखि उल्लेरी जोड्ने सडकमा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटलाई कार्यान्वयन गर्न सम्बन्धीत निकायमा निरन्तर पहल र समन्वय गरिएको बताउनुभयो । वडा अध्यक्ष खड्काले वडा भित्र आवश्यकताका आधारमा योजना छनोट गरेको र यस वर्ष सम्बोधन नभएका योजनाहरुलाई आगामी वर्ष प्राथमिकता दिने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत भगवती खड्काले र सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकारद्धय कमल खत्री र साधन राम्जालीले गर्नुभएको थियो ।