बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिमा आइतबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट एक हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।
रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय २७ जनाले सेवा लिएका हुन् ।
रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टिकाबहादुर शाहीले सात सय ८५ जना महिला र तीन सय ४२ जना पुरुषले शिविरबाट सेवा लिएका जानकारी दिनुभयो ।
शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रिरोग, नाक, कान घाँटी र दाँत रोगसम्बन्धी बिरामीको स्वास्थ्य परिक्षण, भिडियो एक्सरे, ईसिजि, प्रयोगशालासँगै परामर्श र निःशूल्क औषधी वितरण गरिएको छ ।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सकहरु विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दिक्षा क्षेत्री सहित २० जना बढीको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बेग, भगवति, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङगलेका बासिन्दाहरुले सेवा लिएका बताउनुभयो । भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण उपचार सेवा नपाएका बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरेको उहाँले बताउनुभयो ।
भौगोलिक रुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रवन्ध मिलाईएको थियो ।
चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन गाउँ छाडेर सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता शिविरले हटाएको शिविरमा स्वास्थ्य उपचार गर्न आउनुभएका रघुगंगा गाउँपालिका– २ भगवतीका ८६ बर्षिय लेठबहादुर खत्रीले बताउनुभयो ।
शिविरमा रघुगङ्ग गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले समेत विरामीहरुको स्वास्थ्य परिक्षण र उपचारमा सघाएको वडा नं. २ का अध्यक्ष अमृत भण्डारीले बताउनुभयो ।