पोखरेबगर ः अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविले अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।
अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चार दिनसम्म पोखरेबगरमा सञ्चालन भएको प्रतियोगितामा घारको मुक्तीमार्ग मावि दोस्रो र नारच्याङको प्रभा मावि तेस्रो भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले १० स्वर्ण, चार रजत र तीन कास्य सहित ज्ञानप्रकाश मावि बिजयी हुँदा उपबिजेता भएको मुक्तिमार्गले १० स्वर्ण, दुई रजत र सात कास्य पदक जितेको बताउनुभयो ।
साविक बिजेता प्रभा माविले तीन स्वर्ण, चार रजत र छ कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । एथलेटिक्स, भलिबल र कवड्डी बिधाका ३० वटा खेलमा ११ वटा विद्यालयका तीन सय भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
बिजेताले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार पुरस्कार प्राप्त गरेको छ । दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ३० हजार र २० हजार प्रदान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, प्रतियोगिता संयोजक ओमप्रकाश फगामी लगायत जनप्रतिनिधीहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
अन्नपूर्णका अध्यक्ष पुनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, कास्य र रजत पदक जित्ने खेलाडीलाई जनही रु. १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने बताउनुभयो ।
रघुगङ्गा, धवलागिरी, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा यसअघिनै राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न भएको छ । मालिकामा आगामी हप्ता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । पालिका स्तरको प्रतियोगिता सकिएपछि प्रदेश स्तरीय प्रतियोगिताका लागि जिल्ला स्तरको छनौट खेल सञ्चालन गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।