बेनी, । म्याग्दीका स्थानीय तहहरुमा पनि सोमबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरेर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिदै आएको छ ।
बेनी नगरपालिका र अन्य स्थानीय तहहरुले विभिन्न कार्यक्रम सहित अभियान थालेका छन् । अभियानको यस वर्षको नारा ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने रहेको छ ।
अभियानको पहिलो दिन बेनी नगरपालिकाले बेनी बजारमा प्रभातफेरी र असल अभ्यास साझा गर्ने कार्यक्रमको आयोजना गरेको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी नेपाल मञ्चको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रमको सुरुवात भएको छ ।
कार्यक्रमको सुरुवात पूर्व बेनी नगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक सङ्घ संस्थाको समन्वयमा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीपछि जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी केसी, बेनी नगरपालिकाका प्रमुख सुरत केसीले लैङ्गिक हिंसा न्युनीकरणका लागि सचेतनामा जोड दिनुभयो ।
सकारात्मक सन्देश प्रवाह र सुरुआत गर्नका लागि असल अभ्यास साझा गर्ने कार्यक्रममा लैङ्गिक अल्पसङख्यक समुदायकी दिलु बुदुजा, कृष्णा चौधरी, बिनिसा अधिकारीलगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । एकल महिला गोमा पराजुुली, महिला अधिकारकर्मी जमुना आचार्य लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।