बाबियाचौर ः मङ्गला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहिबारदेखि कैलाशफाँट खेलमैदानमा शुरु भएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नौ वटा विद्यालयको सहभागिता रहेको छ । कार्यक्रममा जिसस प्रमुख थापाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।
छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० वटा खेलमा प्रतिस्पर्धा हुने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो । बिजेतालाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रतियोगितालाई शान्त र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि गाउँपालिकाले आबश्यक तयारीका साथ प्रतियोगिता सञ्चालन गरेको बताउँदै विद्यार्थीहरुलाई आफ्नो खेल प्रतिभालाई उत्कृष्ट रुपमा प्रदर्शन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, वडा नम्बर ५ का अध्यक्ष भुपेन्द्र खत्री क्षेत्री,मंगला माविका प्रअ गमबहादुर खत्री लगायतले मन्तव्य राख्नुभएको थियो भने शिक्षा शाखाका डिल्लीरमण सुवेदीले सञ्चालन गर्नुभएको थियो ।