दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङ घुमे

Gandaki Kotihome

जोमसोम, दुई महिनामा एक लाख ७३ हजार जना पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

असोज र कात्तिक महिनामा एक लाख ४४ हजार एक सय ५५ जना स्वदेशी र २८ हजार नौ सय ७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक बिशाल अधिकारीले असोज महिनामा ५९ हजार आठ सय ३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटकहरु हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएका जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

प्रहरीले सडक मार्ग भएर मुस्ताङ भित्र्नेको तथ्याङ घाँसा र हवाईमार्गबाट भित्रनेको अभिलेख जोमसोम विमानस्थलको चेक पोष्टमा राख्ने गर्दछ् । असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार नौ सय ८२ जना र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार आठ सय ४९ जना मुस्ताङ भित्रिएका थिए ।

कात्तिकमा सडकबाट एक लाख ११ हजार छ सय ५५ जना र हवाईमार्गबाट एक हजार छ सय ४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ । दसै तिहार पर्व र विदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरुको संख्या अन्य महिनाको तुलनामा असोज कात्तिक महिनामा धेरै हुन्छ ।

Annapurna aarohan ko notice

होटल व्यवसायीका अनुसार मुस्ताङ घुम्दा एक जना पर्यटकले सरदर न्युनतम रु. १५ हजार खर्च गर्छन् । असोज र कात्तिक महिनामा मुस्ताङ भित्रिएका पर्यटकहरुले रु. दुई अर्ब ५९ करोड ६९ लाख ६५ हजार बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

मुस्ताङमा रहेका तीन सय २५ वटा होटलहरुमा एक दिनमा सात हजार जनाको हाराहारीमा पर्यटक बास बस्न सक्ने क्षमता रहेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताउनुभयो ।

दसै तिहारको समयमा मुस्ताङका सबैजसो होटलहरु पर्यटकले भरिभराउ भएका थिए । मङसिर महिना शुरु र चिसो बढेपछि भने केहीदिनयता पर्यटक आगमन घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा चार लाख २७ हजार र २०७९÷०८० मा तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ पुगेका थिए ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमहरुले संसारका उत्कृष्ट दश गन्तब्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

मुस्ताङ भित्र्ने विदेशी पर्यटकको ठूलो संख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थल रहेका छन् ।

म्याग्दी हुँदै सडक मार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । सार्क मुलुक बाहिरका पर्यटकको संख्या घट्दै जानु चुनौति बनेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने घरपझोङका अध्यक्ष लालचनले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस