जगत बानिया
बाबियाचौर ः म्याग्दीको मङ्गला गाउँपालिका– ५ र बाग्लुङको ताराखोला गाउँपालिका– ४ को सिमानामा रहेको तीनचुलेको धार्मिक र पर्यटकीय सम्भावना तथा महत्व छ ।
समुन्द्रि सतहदेखि दुई हजार नौ सय २२ मिटर उचाईमा रहेको तिनचुलेबाट चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । सुर्योदयका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका ग्रामिण बस्ति, नागबेनी परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बिच भागको उच्च ठाउँमा अवस्थित तिनचुलेको थप विशेषता हो ।
बैकुण्ठ पूर्णिमाका दिन तीनचुलेमा रहेको गोलो आकारको तलाउ माथि बाबियोको तोरण तारेमा दिवङगत आफन्तले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास रहेको तिनचुले संरक्षण तथा प्रर्वद्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले बताउनुभयो ।
तीनचुलेमा मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्वसमेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाको नागबेली खोलाबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि तीनचुलेमा पुग्न सकिन्छ ।
वि.स. २०२४ मा गोठालाले ओदानको तीन वटा चुला जस्तो आकारको ढुङ्गा भेटेपछि यो ठाउँलाई तिनचुले नामाकरण गरी पुजा गरेका थिए । वि.स. २०२५ देखि यस स्थानमा बैकुण्ठ पूर्णिमाका दिन पुजाआजा र मेला लाग्ने गर्छ ।
तिनचुलेमा गण्डकी प्रदेश सरकार, ताराखोला र मङ्गला गाउँपालिकाले तिनचुले जोड्ने सडक, पदमार्ग निर्माणका साथै खानेपानी सुविधा पु¥याएका छन् ।
तिनचुले संरक्षण तथा प्रर्वद्धन समितिका सचिव पूर्णभन्द्र निउरेले पूर्वाधार निर्माण भएपछि म्याग्दी र बागलुङ तर्फबाट घुम्न आउनेको चहलपहल बढेको बताउनुभयो ।
ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिका– ५ देउराली देखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा सौर्य उर्जाको प्रयोग गरि चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको टंकीमा संकलन र दुई वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । सार्वजनिक शौचालय पनि निर्माण भएको छ ।