बेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाई गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यु कान्छि बाराही युवा क्लवका नौ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोला देखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहोर ब्यवस्थापन गरेका हुन् । वडा नम्बर –४ गाडपारको जनगारण युवा क्लवका १२ जनाको टोली सरसफाई कार्यक्रम लिएर शुक्रबार आधार शिविर पुगेका छन् ।
कुहिने फोहोरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहोरलाई संकलन गरि केही तल ल्याएर जलाएको कार्यक्रमको अगुवाई गर्नुभएका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिनुभयो । कात्तिक २७ गते आधार शिविर पुगेका शिखको क्लवको टोली बिहिबार फर्किएको हो ।
मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा त्यहाँको बारेमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । टोलीले अन्नपूर्ण आधार शिविरको सार्वजनिक शौचालयमा ढोका पनि जोडेको छ । सरसफाई र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहनुभएका धनकुमार पाईजाले रु. एक लाख भन्दा बढी सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यु होटलका सञ्चालक मिना पुनले रु. दश हजार सहयोग गर्नुभएको छ ।
“पदमार्ग र आधार शिविरमा पलास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहोर भएको थियो,” उहाँले भन्नुभयो “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहोरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौ ।” रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टविन पनि राखिएको गुरुङले जानकारी दिनुभयो ।
यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लवको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडा सदस्य श्याम पुर्जाको अगुवाईमा कात्तिक पहिलो हप्ता सरसफाई गरिएको थियो ।
अस्टे«लीयामा रहेकी रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाईमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीका अनुसार चालु शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटकहरु अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।
अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाईमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजाका परिकार, भाडाकुडा, ग्याँस, लत्ताकपडाको आफै जोहो गर्नुपर्छ ।
फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलले सन् १९५० को जुन ३ का दिन आरोहण गरेको अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको हिमाल हो । सगरमाथा भन्दा तीन वर्ष अघि आरोहण भएको अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।
हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउदै नारच्याङका तेज गुरुङको अगुवाईमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।
सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामाकरण गरेको छ । नारच्याङ देखि हुमखोला सम्म २० किलोमिटर सडक र हुमखोला देखि आधार शिविर सम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।
पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकिकृत गुरुयोजना तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।