बेनी, । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयमा ४० वर्ष सेवा गरेका शिक्षक मोतिराज गौतमको नागरिक अभिनन्दन सहित विदाई गरिएको छ ।
उमेर हदका कारण यही कात्तिक २७ गतेदेखि सेवानिवृत्त हुनुभएको सिद्ध आधारभूतका प्रअ गौतमलाई विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी र स्थानीयबासीहरुले बाजागाजा सहित गाउँ परिक्रमा गराएर बुधबार बिदाई गरेका हुन् ।
वि.स. २०३९ मा स्थापना भएको सिद्ध आधारभूतमा गौतमले ४० वर्ष एक महिना २७ दिन शिक्षण गर्नुभएको छ । वि.स. २०४१ को असोज देखि चैत महिनासम्म स्वमसेवक, २०४१ च्ैत देखि २०४८ असार सम्म अस्थायी र २०४८ असार देखि २०८१ कात्तिक सम्म स्थायी पदमा रहेर सो विद्यालयमा निरन्तर शिक्षण गर्नुभएको हो ।
मालिका गाउँपालिका–४ फुलबारी निवासी गौतमले एसएलसी परिक्षा उतिर्ण गरेलगत्तै विद्यालय ब्यवस्थापन समितिका पदाधीकारीहरुको अनुरोधमा अध्यापन गराउन थाल्नुभएको थियो । एउटै विद्यालयमा सम्पूर्ण सेवा अवधी बिताउन र नागरिक अभिनन्दन सहित बिदाई हुने अवसर गौतमले पाउनुभएको छ । यस्तो अवसर कमै शिक्षकले पाउने गरेका छन् ।
छाप्रोमा सञ्चालन भएको विद्यालय गौतमको कार्यकालमा १–३, १–५ हुदै १–८ तहसम्मको पठनपाठन हुने भएको छ । गौतमको कार्यकालमा सिद्ध आधारभूतले स्रोत केन्द्र स्तरीय नमुना विद्यालय, निम्न माध्यमिक तहमा जिल्लाको उत्कृष्ट नतिजा ल्याउने र उत्कृष्ट पुस्तकालय व्यवस्थापन पुरस्कार प्राप्त गरेको थियो ।
मालिका गाउँपालिकाको प्रा.वि. तहको प्रथम श्रेणीका गौतमले वि.स २०८१ को शिक्षा दिवसमा राष्ट्रिय शिक्षा विभुषणबाट सम्मानित हुनुभएको थियो । शिक्षण पेशासँगै रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक गतिबिधीमा पनि सक्रिय रहदै आउनुभएको छ ।
गौतमले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन सहित विदाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो । विदाई कार्यक्रममा सहभागी अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थीहरुको आँखा रसाएका थिए । उनिहरुले फुल, माला, अबिर लगाएर शुभकामना दिएका थिए ।
गौतमलाई मालिका गाउँपालिकाको कार्यालयले पनि सम्मानपत्र प्रदान र बिदाई गरेको छ । गाउँपालिकाको प्रअ बैठकमा अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल र शिक्षा अधिकृत अशोक रिजालले प्रंशसापत्र प्रदान गर्नुभएको थियो ।
गौतमले आफ्नो पेशाका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै शिक्षण पेशाबाट बिदा भएपनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो । उहाँलाई म्याग्दीमा ‘मोती’ सरको नामले चिन्ने गरिन्छ ।