बेनी, २४ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घर अन्धकार भएका छन् ।
३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृहका उपकरण बिग्रिएकाले एक हप्तादेखि लुलाङ, खोरिया, लमसुङ र मरेनी गाउँ अन्धकार भएको हो । उक्त परियोजनाबाट चार वटा बस्तिका तीन सय ७० घरमा विद्युत आपुर्ति गरिदै आएको थियो ।
विद्युत अभावमा रातको समयमा उज्यालोका लागि सोलार र टुकीको भर पर्नुका साथै मोवाइल चार्ज गर्न तथा ईन्टरनेट चलाउन समस्या भएको छ। वडा कार्यालयको सेवा प्रवाह र विद्यालयमा कम्प्युटर विषयको पठनपाठन प्रभावित भएको छ ।
धवलागिरी गाउँपालिका–२ का वडा अध्यक्ष अकप्रसाद बिकले बिग्रिएको उपकरण बुटवलबाट मगाएको र एक÷दुई दिनमै परियोजना मर्मत गरी विद्युत आपुर्ति गराउन पहल भएको बताउनुभयो ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने लुलाङमा रहेको दरखोला दोस्रो लघुजलविद्युत परियोजना वर्षेनी बिग्रने गरेको छ । वि.स. २०८० को साउन देखि असोज महिना र वि.स. २०७८ भदौदेखि माघ महिनासम्म परियोजना अवरुद्ध भएको थियो ।
लमसुङमा रहेको परियोजना वि.स. २०७२ मा जुगेपानी पहिरोले बगाएपछि वि.स. २०७६ मा मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । केन्द्रिय प्रशारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत सुविधाका लागि लघुजलविद्युत परियोजनामा निर्भर छन् ।
पटक पटक पहिरोले लद्युुजलविद्युत परियोजनामा क्षति गरेको र उपकरणहरु पनि बिग्रिरहने भएकाले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रिय प्रशारण लाइनको विद्युतीकरण गर्न आवश्यक देखिएको छ ।