बेनी, रघुगङगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधिन ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
रघुगङगा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युतगृह रहेको यस आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ लाईनिङ (पलास्टर गरेर अन्तिम रुप दिने काम) भइरहेको छ ।
तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको अपर राहुघाटका ईन्जिनियर नरोत्तम कार्कीले विद्युतगृह, बाँध, सुरुङ र प्रशारण लाइन निर्माणको काम एकै साथ सम्पन्न हुने चरणमा रहेको बताउनुभयो । आउटलेट देखि विद्युतगृह सम्म पेनस्टक पाईप जडान भइरहेको छ ।
विद्युतगृहभित्र उपकरण जडानको तयारी गरेको छ । सन् २०२५ को जुन महिनाभित्र विद्युत उत्पादन गर्ने कार्ययोजना रहेको यस आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङगले राहुघाट जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । रघुगङगा गाउँपालिका–८ को बन्दीमा बाँध, वडा नम्बर –७ को चिमखोलामा विद्युतगृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण सकिएको छ ।
मङगले राहुघाटको विद्युतगृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरि अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका आवासीय ईञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो । दुई वटै आयोजना निर्माणमा रु. १३ अर्ब भन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।
अपर राहुघाट र मङगले राहुघाटबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशन देखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दुरीको प्रशारण लाईन निर्माण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले अम्बाङमा सवस्टेशन निर्माणमा ढिलाई गरेकाले वैकल्पिक माध्यमबाट विद्युत राष्ट्रिय प्रशारणमा आवद्ध गराउने तयारी गरिएको छ ।
राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रा.लीले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमै नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ ।