जोमसोम, ः संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगतमा आमाको स्थान सबैभन्दा माथी छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएको छ ।
तर मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र स्मृतिमा शब्द खर्चन, भावना व्यक्त गर्न पाइन्छ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित ‘मातृचक्र’ पर्खाल आमाको सम्मान र सम्झना गर्ने गन्तब्य हो ।
“म कसरी हार मानौँ, मेरो अगाडि दुःखको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन्, मेरी प्यारी आमा ।” आमाको सम्मानमा मातृचक्र पर्खालको एउटा ढुङ्गामा म्याग्दीकी स्मृति मगरले लेख्नुभएको छ ।
सेतो रङ्ग लगाइएको गोलो चक्र आकारको पर्खालका ढुङ्गाहरुमा रातो अक्षरमा आमाप्रति सर्मपित भएर लेखिएका यी र यस्तै भावका शब्दावलीहरू देखिन्छन् । यस स्थललाई घरपझोङ गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न काम थालेको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ‘मातृचक्र’को अवधारणा नेपालमै नयाँ र अनौठो भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो । “जिवनका विभिन्न कालखण्ड र आमाका संघर्षको कल्पना गर्दै पर्खालभित्र फन्को लगाइने भएकाले यसलाई मातृचक्र नामाकरण गरिएको हो,” उहाँले भन्नुभयो “आमाको गर्भभित्र हुँदाको कल्पना गरेर पर्खाल वरपर फन्को लगाउन सकिन्छ ।”
कस्तो छ मातृचक्र ?
कोशी प्रदेशको धरानमा बाँसको रुखमा प्रेमका शब्दहरु लेख्ने चलन छ । आमाको सम्मान र सम्झना गर्ने ठाउँ जोमसोमबाहेक कतै नभएको अध्यक्ष लालचनले बताउनुभयो । आठ वटा ढुङ्गे पर्खालको चक्र भएको यस ठाउँमा फन्को लगाउन करिब २० मिनेट समय लाग्छ । टाढाबाट हेर्दा मातृचक्रको पर्खाल विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम जस्तो पनि देखिन्छ ।
बिच भागमा हिड्न मिल्ने बाटो छाडेर बनाइएको मातृचक्र गोलो आकारको छ । नकुदेका ढुंगा चिनेर पर्खाल बनाइएको छ । पर्खाल भित्र छिर्ने र निस्कने एउटै प्रवेशद्धार छ । एकठाउँबाट छिरेपछि सबै भाग घुमेर सोही ठाउँमा आई बाहिर निस्कन सकिन्छ । फन्को लगाउने क्रममा आमालाई दिएका दुःखको क्षमा माग्न, आमालाई धन्यवाद दिन र पुकार गर्न पाइन्छ । फन्को लगाएपछि फर्कने क्रममा ढुंगामा शब्दहरु लेख्ने गर्छन् ।
‘आमाप्रति सघै कृतज्ञ छु,’ सचिन नाम गरेका झापाका व्यक्तिले ढुंगामा लेख्नुभएको छ । म्याग्दीका बिष्णु शर्माले अनौठो र आश्चार्य लागेर आमाको सम्मान र सम्झनाका लागि मातृचक्रमा पुगेको बताउनुभयो ।
करिब २० वर्षअघि एक जना जर्मन नागरिकले बनाएको गोलो आकारको पर्खाल यसअघि उपयोग र संरक्षण भएको थिएन् । गाउँपालिकाले हालै पर्खालको भित्रिभागमा रातो र बाहिरिमा सेतो रंग लगाएको छ । रंगरोगन गरेपछि मातृचक्र आकर्षक देखिएको छ । घरपझोङ गाउँपालिकाको कार्यालय देखि पाँच मिनेट पैदलयात्रा गरेपछि जोमसोम बजारको छेउमा रहेको मातृचत्र पुगिन्छ । बेनी–जोमसोम–कोरला सडकबाट पनि मातृचक्र देखिन्छ ।
कृषि पर्यटनका लागि उद्यान
घरपझोङ गाउँपालिकाको नाममा रहेको जग्गामा अवस्थित मातृ चक्र र वरपरको क्षेत्रमा पूर्वाधार निर्माण तथा पर्यटन प्रर्वद्धनको कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५० लाख बिनियोजन भएको छ । मातृचक्र नजिकै मुस्ताङमा पाइने सबै प्रजातिका स्याउको बगैचा स्थापनाको तयारी गरेको अध्यक्ष लालचनले बताउनुभयो ।
कृषि पर्यटनको अवधारण अनुसार घरपझोङले स्याउ खेतीलाई पर्यटनसँग जोड्ने प्रयासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘मिनी मुस्ताङ’को अवधारणा अनुसार उद्यान बनाउने उद्देश्यले अघिल्लो कार्यकालमा सो ठाउँमा पर्खाल लगाएर घेराबार गरिएको थियो । पछिल्लो कार्यकालका जनप्रतिनिधीले मिनि मुस्ताङको योजना सफल नभएकाले त्यस ठाउँमा स्याउ उद्यान बनाउने तयारी गरेका हुन् ।