अब दुर्गम रहेन मालिकाको पात्ले गाउँ

khali

पात्ले, ५ कात्तिक ः म्याग्दीको दुर्गम मानिने मालिका गाउँपालिका–३ को पात्लेमा तीन वर्षअघि सडक यातायातको सुविधा पुगेको थियो । लघुजलविद्युत परियोजनाको बिजुली बाल्दै आएको पात्लेमा हालै केन्द्रिय लाइनको बिजुली पनि पुगेको छ ।

“काँधको छाला खुइलिने गरेर पोल बोकेर १० वर्षअघि लद्युजलविद्युत परियोजना बनाएर साँझ बिहानका उज्यालोका लागि बिजुली बालेका थियौ,” पात्लेका शिक्षक समेत रहेका भूमीराज रोकाले भन्नुभयो “केन्द्रिय लाइनको विद्युत सुविधा भएपछि भनेको समयमा सस्तोमा बिजुली बाल्न पाएका छौ ।”

Shreekrishna hardwear in news

पात्लेमा सोमबार भएको विद्युतीकरण योजनाको उद्घाटन कार्यक्रममा सहभागी गाउँलेहरुमा खुसीको सिमा थिएन् । “टुकीको ढिपदिपे उज्यालोमा पढ्नुपर्ने अवस्थाको अन्त्य भएको छ,” अमरज्योती मावि डाडागाउँका प्रअ थमबहादुर पुनले भन्नुभयो “सडक र विद्युत सुविधासँगै कुनै समय म्याग्दी जिल्लाकै दुर्गम वस्ति मानिने पात्ले र लुप्सीपार अब सुगम भएका छन् ।”

करिब एक सय २० घरधुरीको बसोबास रहेको पात्ले गाउँमा गण्डकी प्रदेश सरकारको बजेटबाट लुम्पीपार देखि सडकले जोडिएको थियो । साँझ, बिहान घरायसी कामकाज गर्नुका साथै उद्यम व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर पनि सिर्जना भएको पात्लेकी बालकुमारी रोकाले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका एक सय २० घरमा केन्द्रिय प्रशारण लाइनको विजुली बलेको हो । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए ।

मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रिय लाइनका बिद्युत बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताउनुभयो । “हाम्रो वडामा रहेका तीन सय २५ मध्य सबै घरमा विद्युतीकरण भएको छ,” उहाँले भन्नुभयो “विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ ।”

मालिका गाउँपालिकाको वडा नम्बर ३ को सबै बस्तिमा सडक सुविधा पुगेको छ । विद्युत र सडक सुविधा विस्तार पछि चालु आर्थिक वर्षमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण गर्न लागिएको वडा अध्यक्ष बुढाले बताउनुभयो । नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसी संघीयतापछि दुर्गम र विकट वस्तिमा विकासको पहुँच बढेको पाइएको बताउनुभयो ।

khali

विद्युतीकरण योजनाको उद्घाटनका लागि पुगेका गण्डकी प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका म्याग्दी १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले म्याग्दीको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तारको काम भइरहेको जानकारी दिनुभयो । सो अवसरमा जुग्जालीले मालिका गाउँपालिकाको रु. दश लाख बजेटबाट निर्माण भएको साझा सुविधा केन्द्रको भवनको पनि उद्घाटन गर्नुभयो ।

“म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि रु. २२ करोड बजेटको योजना सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “यो योजना मार्फत धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा विद्युत सुविधा विस्तार हुन्छ ।”

सांसद जुग्जालीले मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने अदिभारा देखि डाडागाउँ हुदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोडको आयोजना शुरु भएको र सडकको प्रवेशबिन्दुमा पर्ने अदिभाराको दाजुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन रहेको जानकारी दिनुभयो । गाउँमा भित्रिएको विकासको सदुपयोग र उपभोग गरेर आत्मनिर्भर, स्वरोजगार र सभ्य समाज निर्माणमा हातेमालो गर्न स्थानीयलाई उहाँले आग्रह गर्नुभयो ।

पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेको बताउनुभयो । “यातायात, विद्युत र सञ्चार सुविधाले सुगम बन्न थालेको महशुस गरेका छौं,” उहाँले भन्नुभयो , “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दङ्ग परेका छौँ ।”

खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताउनुभयो । आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य बस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताउनुभयो ।

“पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औलको छोटो बाटो प्रयोग गर्दा डेढ घण्टामा दरवाङ पुगिन्छ ।”

पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडक र विद्युत सुविधाले दुर्गम गाउँका बासिन्दालाई सुगमको अनुभव गराएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा आठ वर्षअघि सडक यातायातको सुविधा थिएन् ।

मालिका–३ का पुर्व वडा अध्यक्ष हेमबहादुर पुनले पछिल्लो आठ वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको र विद्युतीकरण भएको बताउनुभयो । किटेनीमा वडा कार्यालय र डाडागाउँमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...