बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना भएको छ ।
सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गरेको संकलन केन्द्रको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले कृषकको उत्पादनलाई सुरक्षित बजारीकरणका लागि गाउँपालिकाले सहुलियत दरमा कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष रामबहादुर खड्काले संकलन केन्द्र स्थापना भएपछि थोरै दूध उत्पादन गर्ने कृषकले पनि बेचेर आम्दानी गर्ने तथा व्यवसायिक गाईभैसीपालन गरेका कृषकको समयको बचत र बजारको सुनिश्चित भएको बताउनुभयो ।
कृषकले उत्पादन गरेको दूधलाई बजारीकरण गर्ने उद्देश्यले संकलन केन्द्र स्थापना गरिएको र चिज उद्योग पनि सञ्चालन गर्ने तयारी भएको सहकारीका अध्यक्ष बिमल बरुवालले बताउनुभयो । हाल दैनिक एक सय ४० लिटरका दरले दूध संकलन हुने गरेको छ ।
स्थानीय कृषक शिव खड्काले पोखरेबगरमा सञ्चालन गरेको डेरी र राजु बरुवालले घोडा मार्फत भुरुङ्ग तातोपानी, दाना, नारच्याङमा दूध बिक्री गर्न लैजाने गर्नुभएको छ । सहकारीको करिब रु. सात लाख लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरेर संकलन केन्द्र स्थापना गरेको कोषाध्यक्ष युवराज बरुवालले बताउनुभयो ।
बिरौटाका साथै भुवाने र घार लगायतका ठाउँमा पनि एक सय लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकहरुलाई आवद्ध गराएर संकलन केन्द्र बनाउने सहकारीको तयारी छ । सिजनमा दूध, दहि बिक्री गर्ने र बेसिजनमा चिज, घ्युलगायत दूग्धजन्य परिकार बनाएर बिक्री गरिने कोषाध्यक्ष बरुवालले बताउनुभयो ।
यसअघि घारको भूवानेमा रहेको हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द हुँदा दूध बिक्री हुन छाडेपछि किसानहरु मर्कामा परेका थिए । वि.स. २०६६ मा स्थापना भएको सहकारीलाई पछिल्लो ६ वर्षयता स्थानीय युवाहरुको सक्रीयतामा सक्रीय बनाएर नियमित सञ्चालन भएको छ । बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकोमा अब दूध संकलन र बिक्री वितरण गर्न थालेको हो ।