
बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीहरुको शव संकलन गर्न समस्या भएको छ ।
प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालको सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव ल्याउन समस्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले शव ल्याउनका लागि बुधबार हेलिकप्टरमा धौलागिरि हिमालमा गएको शेर्पा सहितको टोलीले घटनास्थलको निरिक्षण गरेर मात्र फर्किएको बताउनुभयो ।

“हेलिकप्टर अवतरण गर्न र मानिस हिडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको छ,” उहाँले भन्नुभयो “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव संकलन गरेर घटनास्थलबाट ल्याउने प्रयास सफल भएको छैन् ।”

एभरेष्ट एयरको हेलिकप्टरमा गएका शेर्पाले घटनास्थलको निरिक्षण गरेर फर्किएका प्रनाउ श्रेष्ठले बताउनुभयो । आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनिहरु सात हजार छ सय मिटरको उचाईबाट आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए ।
प्रहरीका अनुसार रसीयाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मंगलबार दिउँसो भेटिएको थियो ।
आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत १४ जना रसीयाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ जना पर्वतरोहीहरुले बिचमै आरोहण रद्द गरेर फर्किएका थिए ।
संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदयाममा रसीयाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।
