बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले जिल्लामै पहिलो पटक अकवरे (डल्ले) जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् ।
म्याग्दीमा यसअघि अकवरे खुर्सानीको ब्यवसायिक खेती भएको थिएन् । घरायसी उपभोगका लागि मात्र अकवरे खुर्सानी खेती हुदै आएको थियो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले भकिम्लीका कृषकहरुले व्यक्तिगत र सामुहिक रुपमा व्यवसायिक अकवरे खेती गर्न थालेका जानकारी दिनुभयो ।
“भूगोल र हावापानी अनुकुल भएकाले भकिम्लीको व्यवसायिक अकवरे खुर्सानी खेती सफल देखिएको छ,” उहाँले भन्नुभयो “बेनी, दरवाङ, तातोपानी, गलेश्वर लगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकवरे खुर्सानी तराई र पुर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।”
भकिम्लीको गंगा पशुपंक्षी तथा फलफुल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकै लगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकवरे खुर्सानी बेचेर रु. एक लाख ७५ हजार आम्दानी गरेको बताउनुभयो ।
“बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो रु. दुई सय ५० का दरले अकवरे खुर्सानी बिक्री भएको छ,” उहाँले भन्नुभयो, “परम्परागत अन्नबालीको तुलनामा खुर्सानी खेतबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।”
आलेका साथै बेलढुंगा कृषक समूहले सात रोपनी, चिनाखेतका दिपक पुन, दिवस घर्ती लगायतका किसानले व्यवसायिक अकवरे खुर्सानी खेती गर्नुभएको छ । बेलढुंगा कृषक समूहका सचिव भिमबहादुर रोकाले ताप्लेजुङबाट विउ ल्याएर परिक्षणका लागि गरेको अकवरे खुर्सानी खेती सफल भएपछि ब्यवसायिक खेती थालेको बताउनुभयो ।
१९ जना किसानहरुले रु. पाँच÷पाँच लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाईसराईसँगै बाझिएको खेतबारीमा खनजोत गरि खुर्सानी, किबी, सुन्तला, आलु खेती र नर्सरी सञ्चालन गरेका छन् ।
दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राती १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकवरे खुर्सानी खेती गर्न सकिन्छ । खुर्सानी खेती भकिम्लीका कृषकहरुलाई तरकारी खेती प्रर्वद्धन कार्यक्रम मार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो ।