
बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिका–५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित भएका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले हिमालयन आँखा अस्पताल पोखरा र नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा शिविरको आयोजना गरेको शिविर बुधबारदेखि शुरु भएको थियो । नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाले शिविरमा आठ सय ७१ ज्नाको आँखाको परिक्षण र ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।
“म्याग्दीका छ वटै स्थानीय तहका सर्वसाधारणहरुले सेवा लिएका छन्,” उहाँले भन्नुभयो “आर्थिक अभाव, भौगोलिक विकटता, पारिवारिक र सामाजिक समस्याले कष्टकर जिवन विताइरहेका सर्वसाधारणलाई गाउँमै आँखा उपचार सम्बन्धी सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो ।”



शिविर मार्फत गाउँठाउँमै आँखा परिक्षण, उपचार र मोतियाबिन्दुको शल्यक्रिया सम्बन्धी सुविधा पाएपछि सर्वसाधारणलाई पोखरा जादा, आउदा हुने आर्थिक र समयको बचत भएको छ । आँखा परिक्षण, मोतियाबिन्दुको शल्यक्रियाको साथै परामर्श, निशूल्क औषधी र चस्मा वितरण गरिएको थियो ।
हिमालय आँखा अस्पतालका नेत्र चिकित्सक डा. हरिमाया गुरुङ, नेत्र ज्योती संघ म्याग्दीका बरिष्ठ नेत्र सहायक दिनेश बानिया लगायत मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा दिनुभएको थियो । मंगला गाउँपालिका–४ की खगी बिकले गुमेको आँखाको ज्योती फर्किएकोमा खुसी व्यक्त गर्नुभयो ।
रोजगारी, पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध मोना अन्तराष्ट्रिय कार्यसमितिको नवौ वार्षिक साधारणसभाको अवसरमा शिविरको आयोजना गरिएको हो ।

