माटोको पर्खालभित्र रहेको ऐतिहाँसिक लोमान्थाङमा पर्यटकको आकर्षण

khali

सन्तोष गौतम ÷
लोमान्थाङ, ः विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहाँसिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो ।

वरपर सुख्खा कलात्मक पहाडको बिच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत रहेको यो ठाउँ समुन्द्रि सतहदेखि तीन हजार सात सय २० मिटरको उचाईमा छ । समथर खेतीयोग्य फाँटको बिचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ ।

नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ हिमालसँगै पठारको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले आकर्षण भरेको छ । माटोको पर्खालभित्र रहेको ऐतिहाँसिक बस्ती, दरवार र गुम्बा, सांस्कृतिक राजा, मुखीया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जिवनशैली लोमान्थाङको थप आकर्षण हो ।

Shreekrishna hardwear in news

लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अनुसार यहाँको बस्ती करिब छ सय वर्ष पुरानो हो । “यस्तो बस्ती सायद कहीँ–कतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो,” उहाँले भन्नुभयो “मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ विश्वभरका मानिसहरुका लागि आश्चार्यको विषय हो ।”

माटोको पर्खाल भित्र प्राचिन बस्ती

दुई सय भन्दा बढी घरधुरीको बसोबास रहेको लोमान्थाङ बस्तीलाई माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको छ । दुई सय ८० मिटर उत्तर–दक्षिण र एक सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । पर्खाल बाहिरका बस्ति पछि बसेको हो ।

लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा÷मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । विसं १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषण गरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले बताउनुभयो ।

यहाँ लोवा समुदायका बिष्ट, गुरुङ र दलित समुदायको बसोबास छ । माइला छोरा लामा र माइली छोरी भुमा बस्ने चलन छ । संस्कारगत कार्यमा लामा र झुमाको भूमिका हुन्छ । ब्यापार, पशुपालन र खेती किसानी यहाँका बासिन्दाको आम्दानीको स्रोत हो । पछिल्लो समय यहाँका बासिन्दाहरु जापान, युरोप, अमेरिका देश जाने क्रम बढेको छ ।

यहाँ मुद्दा नभएको व्यक्ति बुद्धिमान र ऋण नभएकालाई साहूका रुपमा चिनिन्छ । अधिकांश मुद्दा, झैझगडा परिवार वा गाउँभित्रै मुखीयाले छिनोफानो गर्छन् । महिलाले बख्खुको अगाडि पाङदेन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङदेन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको संकेत नै पाङदेन हो । गाउँमा कसैको घर बनाउँदा गाउँलेले दुई÷तीन दिन बिनाज्याला सहयोग गर्ने परम्परा जीवित छ ।

सांस्कृतिक राजा, ऐतिहाँसिक दरवार र गुम्बा


लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् । राजपरिवारका सदस्यहरुको उपस्थितिमा चाडपर्व, सभा समारोह र विशेष कार्यक्रम हुने स्थानीयबासी कर्म आङगेलले बताउनुभयो । “सांस्कृतिक रुपले हाम्रो समाजमा राजा अस्तित्वमै छन्,” उहाँले भन्नुभयो “महत्वपूर्ण कार्यक्रम सांस्कृतिक राजपरिवारका सदस्यहरुको उपस्थितिमा हुन्छ ।”

khali

लोमान्थाङका अन्तिम तथा २५ औँ पुस्ताका राजा जिग्मे परवल विष्टको वि.स. २०७३ मंसिरमा मृत्यु भएको थियो । विसं १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यको रूपमा रहेको लोमान्थाङ विसं १८४६ मा बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले तत्कालीन तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यको रूपमा लालमोहर लगाइदिएका थिए ।

नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे । नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने ०७४ देखि भुरे राजा÷रजौटाको शासनलाई अन्त्य गरेको हो । मुलुकमा राजतन्त्रको अन्त्यसँगै तत्कालीन मुस्ताङी राजाले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गर्नुभएको थियो । गणतन्त्रपछि राज्यले दिँदै गरेको सुविधा खोसेको थियो ।

मुस्ताङी राजा आमे पालले ई.स. १४४० मा निर्माण गरेको पाँच तले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । ढुङ्गा, माटो र काठले बनेको यो दरवार वि.स. २०७२ को भूकम्पका कारण चर्कीएपछि मर्मत गरिएको थियो । बाहिरबाट हेर्न सकिने विशाल दरवार भित्र पस्न भने रोक लगाइएको छ ।

यही दरबारबाट तत्कालीन मुस्ताङी राजाले राज्य सञ्चालनका गतिबिधी गर्दथे । १५ औ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहाँसिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङका र मुर्तीहरु छन् ।

वार्षिक तीन हजार पर्यटक


वि.स. २०८१ को वैशाख देखि भदौ सम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो । वर्षको अन्तसम्म पर्यटक आगमनको संख्या तीन हजार नाघ्ने अनुमान गरिएको छ । लोमान्थाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको छ ।

सन २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए । सन् २०२२ मा तीन हजार एक सय १२, २०२१ मा तीन सय ३२, २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

सरकारले सन १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शूल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर– ३ को साविक छुसाङ गाविस र वडा नम्बर –५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।

तथ्याङ्क अनुसार मुस्ताङ भित्रने कुल पर्यटक संख्याको दश प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जादैनन् । आएका पर्यटकहरु पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउदै हतार हतार फर्कनुपर्ने समस्या रहेको छ । विदेशीको तुलनामा केही बढी नेपालीहरु उपल्लो मुस्ताङ घुम्न गएपनि उनिहरुको आधिकारिक तथ्याङ छैन् ।

सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।

मौलिक सम्पदा, संस्कृतिको संरक्षण र प्रर्वद्धन गरि पर्यटन विकासका लागि पहल गरिएपनि अर्धनिषेधित क्षेत्र र महँगो प्रवेश शूल्कका कारण समस्या भएको अध्यक्ष गुरुङले बताउनुभयो । निषेधित क्षेत्रका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो ।

विदा र चाडपर्वको समयमा घुम्न आउने नेपालीहरुले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ । लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक चार सय जना पर्यटक बास बस्न सक्ने क्षमता रहेकोे मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताउनुभयो । लोमान्थाङमा सडक यातायातको सुविधा पुगेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...