बेनी। पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्र स्तरीय १७ औ साधारणसभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जिवनप्रसाद गौतमको अध्यक्षता, केन्द्रिय कार्यालयका कर्मचारी सन्तोष शर्माको सञ्चालन र बेनी सेवा केन्द्रका संयोजक दामोदर शर्माको स्वागत मन्तब्यमा साधारणसभा सम्पन्न भएको थियो ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष श्रीराम पौडेलले प्रगति, आर्थिक प्रतिवेदन र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष हरिप्रसाद पौडेलले सदस्यहरुले गरेका प्रश्नको जवाफ दिनुभएको थियो । संस्थाका कानुनी सल्लाहकार ठाकुरप्रसाद आचार्यले पनि कार्यक्रममा मन्तब्य व्यक्त गर्नुभएको बेनी शाखाका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो ।
सहकारीले यसअघि पोखरेबगर र भगवति सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरिसकेको छ । जलजला, सिंगा तातोपानी, बाबियाचौर र ताकम सेवा केन्द्र स्तरीय साधारणसभा गरिसकेपछि यही असोज १९ गते दरवाङमा प्रतिनिधीमुलक साधारणसभा गर्ने तय भएको छ ।
छ हजार चार सय पाँच जनाको रु. १२ करोड ४१ लाख १७ हजार सेयर पुजि रहेको सहकारीले गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. ७० करोड २१ लाख ६८ हजार सात सय निक्षेप संकलन, रु. ६७ करोड ३१ लाख पाँच हजार तीन सय ६५ ऋण लगानी र रु. एक करोड ३४ हजार पाँच सय २५ आम्दानी गरेको साधारणसभामा जानकारी गराइएको थियो ।
पशुपालन तथा मासुजन्य कर्जा लगानी गर्दै आएको सहकारीले सदस्य र सामाजिक संस्थाहरुका लागि विभिन्न सामाजिक गतिबिधी समेत गरेको छ । आगामी आर्थिक वर्षमा सरकारी निकाय, शैक्षिक संस्था र सामाजिक संघ संस्थाहरुसग समन्वय गरेर स्वास्थ्य, सरसफाई र वातावरणमैत्री कार्यक्रम गर्ने लगायतका कार्यक्रम बनाएको छ ।