लोमान्थाङमा माटोको पर्खाल बाहिरको सडकलाई पक्कि बनाउने योजना शुरु

Gandaki Kotihome

लोमान्थाङ, माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक र सांस्कृतिक बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय मुस्ताङले लोमान्थाङको प्रवेशद्धार देखि माटोको पर्खाल वरिपरिको सडकलाई ढलान गरेर स्तरोन्नति गर्ने आयोजना शुरु गरेको हो ।

२०८१ साउन २९ गते रु. तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी दिप–शर्मा जेभी पोखराले सडक ढलानका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले बताउनुभयो ।

Upper Myagdi transmition line notice

आगामी २०८२ माघ २८ गतेसम्म ठेक्काको म्याद रहेको आयोजना मार्फत माटोको पर्खाल वरपर नाली निर्माण र दुई किलोमिटर सडक सात मिटर चौडाईका दरले आरसिसी ढलान गर्ने लक्ष्य रहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो आयोजनाका लागि रु. ९६ लाख बजेट बिनियोजन गरेको छ ।

कच्चि सडकको धुलो र हिलोले स्थानीयबासी तथा पर्यटकहरुलाई प्रभावित बनाएपछि मौलिकतालाई असर नपर्ने गरि सडकलाई ढलान गर्न लागिएको लोमान्थाङका वडा अध्यक्ष ढुढुके विष्टले बताउनुभयो ।

Annapurna aarohan ko notice

यसअघि सघन शहरी तथा भवन निर्माण आयोजना, बागलुङ र लोमान्थाङ गाउँपालिकाले लोमान्थाङको पर्खाल भित्रको सडक, पैदलमार्ग र गल्लीमा ढुंगा बिछ्याएका थिए । लोमान्थाङमा माटोको पर्खालभित्र र बाहिर बस्ति रहेको छ । पर्खालभित्र ऐतिहाँसिक दरवार, गुम्बा र पुरानो बस्ति रहेको छ । पर्खाल बाहिर पनि नयाँ बस्ति छ ।

सघन शहरी तथा भवन निर्माण आयोजनाको रु. एक करोड २७ लाखको लागतमा पर्खालभित्रको पदमार्गमा रु. चार हजार ४४.२५ वर्गमिटर क्षेत्रफलमा स्लेट ढुंगा छपान भएको थियो । लोमान्थाङ गाउँपालिकाको रु. ६५ लाख २८ हजारको लागतमा आर्थिक वर्ष २०८०÷८१ मा स्लेट ढुंगा छपान गर्ने योजनालाई पूर्णता दिइएको गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।

ढुंगा छपान गरेपछि मौलिकताको संरक्षणसँगै धुलो उड्ने र हिलो हुने समस्या हटेर सफा सुग्घर बनेको छ । यसअघि वस्तीभित्र छपाएको ढुंगाहरु उप्किएका थिए । कतिपय ठाउँमा ढुंगा छपाइएको थिएन् । चिनको स्वसाशित क्षेत्र तिव्वतसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत रहेको लोमान्थाङको सडक र गल्लीमा नाली निर्माण गरेर ढल व्यवस्थापन गरिएको छ ।

चोक र सडक छेउमा एक सय ५० वटा सडक वत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको छ । बस्तीभित्र विद्युतको तारलाई भूमिगत बनाइएको छ । माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरवार र गुम्वा सहित करिब दुई सय वटा माटोले बनेका घर छन् ।
३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरता अवलोकनका लागि लोमान्थाङमा पर्यटक आउँछन् । ऐतिहाँसिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...