बेनी । बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्क व्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले वडा अध्यक्ष उत्तमकुमार कर्मचार्यको अध्यक्षतामा ११ सदस्यीय कालीपुल बसपार्क व्यवस्थापन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा यज्ञराज थापा, कोषाध्यक्षमा सरस्वती विक, सदस्यमा बलराम सुवेदी, राजु छन्त्याल, सुरेन्द्रराज शर्मा, समिक्षा तिमिल्सीना, नारायण गर्बुजा र मनबहादुर चर्माकार रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालीपुल स्थित मोटरेबल पुल देखि डल्लेपिपलको सडक अस्सफाल्ट प्रविधीको कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत करिब रु. ८० लाखमा ठेक्का सम्झौता भएको र केही दिनमै काम शुरु हुन लागेको बताउनुभयो । कालीपुल बसपार्कको टर्मीनल भवनमा तला थप गर्न लागिएको र ट्राफिक प्रहरी कार्यालयको भवन भत्काएर स्थानान्तरणको तयारी गरेको जानकारी दिनुभयो ।
“कालीपुल देखि कालीगण्डकीको किनारै किनार भएर म्याग्दी नदीको किनारमा रहेको दरवाङ बसपार्क सम्मको सडक र दरवाङ बसपार्क ढलान गर्न सहरी विकास मन्त्रालयबाट रु. १९ करोडको योजना अन्र्तगत यसै वर्ष रु. चार करोड ५० लाखको ठेक्का आव्हान हुदैछ,” नगर प्रमुख केसीले भन्नुभयो “कालीपुलको कृषि बजारको भवनका लागि यस वर्ष रु. २५ लाख बिनियोजन भएको छ । कालीगण्डकीमा नयाँ मोटरेबल पुल निर्माण स्थलको टुंगो लगाएर यसै वर्ष ठेक्का आव्हानको तयारी भएको छ ।”
म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले म्याग्दीको प्रवेशद्धार कालीपुलले जिल्ला र नगरपालिकाको पहिचान झल्काउने भएकाले कालीपुललाई ब्यवस्थित र सरसफाईयुक्त बनाउनुपर्ने बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बसपार्क भन्दा बाहिरको ठाउँमा सवारी साधन पार्किङ नगरिदिन अनुरोध गर्नुभयो ।
बालमन्दिर माध्यमिक विद्यालय, स्थानीयबासी हिमबहादुर भण्डारी, बिष्णु कार्की र पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमले पहिलेको तुलनामा धेरै सुधार भएको र थप ब्यवस्थित बनाउन सुझाव दिनुभयो । समितिले कालीपुल बसपार्कमा सवारी साधनहरुबाट पार्किङ शूल्क संकलन, सरसफाई, सवारी व्यवस्थापनको काम गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा रु. १५ लाख ७९ हजार छ सय ३५ आम्दानी गरेको समितिले कर्मचारीको तलब, सिसिटिभी क्यामेरा जडान लगायतका काममा रु. नौ लाख १७ हजार छ सय २६ खर्च गरि रु. छ लाख ६२ हजार नौ सय बचत गरेको थियो । बचत भएको रकम संस्थाको कार्यबिधी अनुसार बेनी नगरपालिकालाई बुझाउनुपर्ने ४० प्रतिशत हुन आउने रु. दुई लाख ६४ हजार ८०३ मध्य रु. दुई लाख ६० हजार दुई वटा सटर निर्माण गर्दा भएको भुक्तानी गरिएको अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।
यसैगरी बालमन्दिर माध्यमिक विद्यालयलाई रु. दुई लाख ६४ हजार सहयोग गरिएको र एक लाख ३१ ह्जार बसपार्क समितिको खातामा रहेको साधारणसभामा जानकारी गराइएको थियो ।