बेनी, म्याग्दीमा अधिकांश युवा युवतिहरु कक्षा १२ उतिर्ण गरेपछि लाखौ खर्च गरेर जापान, युरोप र अमेरिकी देशमा अध्ययनसँगै रोजगारीका लागि जाने क्रम तिब्र रुपमा बढेको छ ।
उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रमसँगै जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याको रुपमा देखिन थालेको छ । क्याम्पसहरुमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको छ ।
विदेशिने प्रतिस्पर्धाका कारण लोकसेवा, शिक्षक सेवा, सेना, प्रहरी र निजी क्षेत्रमा म्याग्दीका जनशक्तिको उपस्थिति न्युन छ । युवायुवतिहरुलाई विदेशको विकल्पमा देशभित्रै सार्वजनिक सेवामा सम्भावना देखाउन र आकर्षित गराउन सामाजिक विकास कार्यालय म्याग्दीले लोक सेवा आयोगको निशूल्क तयारी कक्षा सञ्चालन गरेको छ ।
कार्यालयका प्रमुख रमेश थापाले युवतिहरुलाई निजामती सेवाप्रति भोक जगाउने उद्देश्यले २० दिनका लागि तयारी कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो । “म्याग्दीमा १२ कक्षा उतिर्ण गरेपछि युरोप, अमेरिका र खाडी मुलक जाने चलन बढी देखिन्छ,” सामाजिक विकास कार्यालयका प्रमुख थापाले भन्नुभयो “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिहेका युवतिहरुलाई निजामती सेवामा आकर्षित गराउने उद्देश्यले निशूल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।”
म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा जिल्लाका छ वटै स्थानीय तहका ३३ जना युवतिहरु सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका युवतिहरु तयारी कक्षामा सहभागी भएका हुन् ।
अप्राविधिक तर्फको प्रसाशन सहायक (पाँचौ) र खरिदार (चौथो) तहको परिक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्षपनि लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो ।
तयारी कक्षामा सहभागी प्रमिला पौडेलले लोक सेवा आयोगको प्रतिस्पर्धा मार्फत सार्वजनिक सेवामा प्रवेश गरेपछि करिअर बन्ने भावना सिर्जना हुनुका साथै उत्तर लेख्ने शैली र तरीकाको बारेमा जानकारी भएको बताउनुभयो । तयारी कक्षाले लोक सेवा आयोगको परिक्षामा सहभागी हुन सजिलो हुने सहभागीहरुले बताएका छन् ।