बेनी, ः संविधानसभाका सदस्यहरुले संविधानको पूर्ण कार्यान्वयनसँगै आवश्यकता र औचित्यताका आधारमा संसोधनमा जोड दिनुभएको छ ।
संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा बिहिबार बेनीमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै वि.स. २०६४ र २०७० मा म्याग्दीबाट निर्वाचित संविधानसभा सदस्यहरु गोविन्द पौडेल र नवराज शर्माले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई पूर्णता दिनुपर्ने औल्याउनुभयो ।
“संविधानमा भएको समावेशी र समानुपातिक ब्यवस्थाले नीति निर्माण र राज्य सञ्चालन तहमा पछाडी पारिएका लिंग, वर्ग, भूगोलको पहुँच बढेको छ,” पौडेलले भन्नुभयो “संघीय ब्यवस्थाले दुरदराजका गाउँबस्तिमा विकास र सेवा सुविधा पुगेको छ ।”
प्रदेश र स्थानीय तहहरुलाई थप शसक्त बनाउनका लागि संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा प्रतिनिधीसभाले प्राथमिकता दिनुपर्ने पौडेलको भनाई थियो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली, उत्पिडित समुदायको पहिचानमा आधारीत ब्यवस्थाका लागि संविधानमा आफ्नो पार्टीको फरक मत रहेको बताउनुभयो ।
नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष समेत रहनुभएका अर्का संविधानसभा सदस्य नवराज शर्माले एकात्मक शाषन ब्यवस्थाको अन्त्य गरेको संविधानलाई गतिशिल दस्तावेजका रुपमा स्विकार गरिएकाले नागरिकका अधिकार, सेवा सुविधा र सम्बृद्धीका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
संविधान कार्यान्वयनको एक दशकको अनुभवका आधारमा यसका अन्तरवस्तु र संसोधनका विषयमा पनि छलफल हुनुपर्ने शर्माको भनाई थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडीको चोकबाट शुरु भएको प्रभातफेरी हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै पुन सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।
त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम अन्तर्गत बुधबार कालीपुल बसपार्क देखि कालीगण्डकीको किनारै किनार दरवाङ बसपार्कसम्म सरसफाई गरिएको जिसस प्रमुख राजकुमार थापाले बताउनुभयो । साँझ गैरसरकारी संस्था मिलन म्याग्दीको आयोजनामा बेनी स्थित प्रशासन कार्यालय अगाडीको बिरेन्द्र चोकमा दिप प्रज्वलन गरिएको थियो ।