बेनी ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य उर्जाबाट विद्युतीकरण भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा तत्काल केन्द्रिय प्रशारण लाइनको विद्युत पुग्ने सम्भावना नभएपछि सौर्य उर्जा जडान गरिएको वडा सदस्य छिरिङ पासाङ गुरुङले बताउनुभयो ।
“रु. ४४ लाख बजेटमा १० किलोवाट क्षमताको सौर्य उर्जा जडान गरिएको हो,” स्थानीयबासी समेत रहेका उहाँले भन्नुुभयो “साङ्ताका १३ घरधुुरी लाभान्वित भएका छन् ।” विद्युत सुविधा भएपछि स्थानीयबासीको जनजिवन सहज भएको छ ।
मोवाइल चार्ज गर्न, रेडियो सुन्न, टिभी हेर्न, ल्यापटप चलाउन सहज भएको छ । स्थानीयबासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमत्ताको सोलार सेट जडान गरेका थिए ।
गाउँ नजिकैको डाडामा सोलारको प्यानलहरु राखिएको छ । सोलार प्यानल नजिकै घर बनाएर ब्याट्रिहरु भण्डारण गरेर राखिएको छ । प्यानल र ब्याट्रि भएको घर परिसरलाई तारको घेराबार बनाइएको छ । पोल गाडेर तार मार्फत घरघरमा विद्युत आपुर्ति गरिएको छ ।
कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ को फल्याक गाउँदेखि साङ्ता २८ किलोमिटर टाढा छ । साङ्तालाई मुस्ताङको कान्छो गाउँका रुपमा चिनिन्छ । सबैभन्दा पछि पहिचान भएकाले साङतालाई कान्छो बस्ति भनिएको हो ।
साङ्तामा हालसम्म मोवाइल र इन्टरनेटको सुविधा पुुगेको छैन् । सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिडेर झमटङ डाडामा पुग्ने गर्छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोवाइल फोन सेवा विस्तारको तयारी गरेको बताउनुभयो ।
दश वर्ष अघि सडक सुविधा पुुगेको साङ्तामा हालै एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ ।