सन्तोष गौतम
म्याग्दी, २४ भदौ ।
‘क्या राम्रो स्याउ बारी,
मार्फा गावैमा,
हेर्दा राम्रो मार्फा गाउँ,
खाँदा मीठो मार्फा स्याउ’
ज्योति गुरुङले स्वर भरेको स्वर्गीय बसन्ती लालचनको शब्द रचना रहेको गितले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फाको कृषि पर्यटकीय सम्भावनालाई उजागर गर्छ ।
रिसला र स्वादीलो स्याउ उत्पादन हुने मार्फा पछिल्लो समय पर्यटकीय स्थलको रुपमा स्थापित भएको छ । मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमुना भएको बताउनुहुन्छ ।
“मार्फाको स्याउबारी, थकालीको रहनशहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउदै गएको छ,” उहाँले भन्नुभयो “मुस्ताङ आउने पर्यटकको बसाई लम्बाउन र उनिहरुलाई भुलाउन मार्फामा धेरै आकर्षणहरु छन् ।”
सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीऔ अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुख्खा पहाड छ ।
ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफा सुग्घर र चिटिक्क छन् । बसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका स्याउ बगैचा डुल्डा प्रकृतिको काँखमा रमाएको महशुस हुने काठमाडौबाट मार्फा घुम्न आएकी सरिता तिमिल्सीनाले सुनाउनुभयो ।
“चलचित्र जेरी र कवड्डीको नाममा मार्फामा नामाकरण भएका गल्लीमा थकाली पोषाक लगाएर फोटो, भिडियो बनाउदा झनै रमाइलो भयो,” उहाँले भन्नुभयो “क्या राम्रो स्याउ बारी मार्फा गावैको भन्ने गित सुनेर गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।”
गीतमा उद्धृत गरिएझंै मार्फा गाउँको पहिचान झल्काउने थुप्रै विशेषता र आकर्षण छन् । धौलागिरि हिमाल फेदको धमाङबाट बसाई सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ति बसालेको एक सय ५० घरधुरीको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ ।
सक्खर माटो बिछ्याइएका परम्परागत घरहरूमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिनेर राख्ने चलन रहेको मार्फाकी कमला लालचनले बताउनुभयो । उहाँका अनुसार परम्परागत समाजमा घरको छानामा रहेको दाउरालाई त्यो घरको आर्थिक सम्पन्नता मापनको आधारका रुपमा लिइन्थ्यो ।
दर्जनौ स्वदेशी तथा विदेशी चलचित्रहरु छायांकन भएको मार्फाका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् । मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा पनि अर्को आकर्षण हो । उक्त गुम्बामा विपद् नहोस, खेतीबाली सप्रियोस र रोग ब्याधी नआवस भनेर पुजाआजा गर्ने चलन छ ।
जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामाकरण गरिएको छ । इकाइ कावागुचीलाई नेपाल— जापान सम्बन्धका दूत मानिन्छ ।
हिमाली क्षेत्रका फलफुल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शितोष्ण बागबानी विकास फार्म छ । कृषि सम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटकहरु भुल्ने गर्छन् ।
देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिकहरु अवलोकन भ्रमणमा आउँछन् । शितोष्ण बागबानि विकास केन्द्रको नजिकै मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा वौद्ध धर्मगुरु रिम्पोचेको मुर्ति रहेको स्थानीयबासी ज्ञानु पन्नाचनले बताउनुभयो ।
स्याउको राजधानीको रूपले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैचा भित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो ।
मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योगहरू छन् । बेमौसममा स्याउ बिक्री गर्नका लागि कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको सहयोगमा चिस्यानगृह बनाएर भण्डारण गर्न थालिएको घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य दिपक लालचनले बताउनुभयो ।
घरपझोङ गाउँपालिकाले मार्फा गाउँभित्रको विद्युत् र टेलिफोन लाइनलाई भूमिगत बनाई सडक वत्ती जडान गरेर साँझपख भिलीमिली र गुल्जार हुने बनाइएको छ । मार्फाका वडा अध्यक्ष मनबहादुर हिराचनले कृषि पर्यटनको माध्यमबाट बसाईसराई रोक्ने र गाउँलाई आर्थिक रुपमा सम्बृद्ध बनाउन पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रर्वद्धनात्मक कामलाई सँगै अघि बढाएको बताउनुभयो ।
अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मार्फा हुदै संसारको सातौ अग्लो धौलागिरि हिमाल आरोहण गर्न जाने पदमार्ग छ । चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मार्फा खण्डमा हालै कालोपत्र भएको छ । मार्फा देखि आलु बारी हुदै याकखर्क सम्म सडक पु¥याएपछि आरोहीहरुलाई आधार शिविरमा सामान लैजान सजिलो भएको छ ।
वडा अध्यक्ष हिराचनका अनुसार सहरी विकास तथा भवन निर्माण आयोजना बागलुङ मार्फत रु. एक करोडको लागतमा स्याउ उद्यान निर्माणाधिन छ । स्याउ आकृतिमा निर्माण गर्न लागिएको उद्यानबाट मार्फा गाउँ अवलोकन गर्न सकिन्छ ।
सो ठाउँ नजिकै गाउँपालिकाले स्याउको प्रतिमा बनाएको छ । मार्फा गाउँ देखि भ्यु पोइन्ट जाने ढुङ्गा बिछ्याएको पदमार्ग निर्माण र डिलमा सौन्दर्यकरणका लागि बत्ती जडान गरिएको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताउनुभयो ।
पर्यटकको सुविधाका लागि मार्फामा २० बढी होटेलहरू सञ्चालन भएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोशेली घरहरुबाट स्याउ, सकुटी, दाल, ब्राण्डि किनेर लैजाने गर्छन् ।