सन्तोष गौतम
दामोदरकुण्ड, आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङ हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकहरुलाई समस्या भएको छ ।
समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर –४ को भूगोलमा पर्छ । भौगोलिक रुपमा विकट, दुर्गम र बस्ति देखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र त्यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् ।
समुन्द्रि सतहदेखि पाँच हजार सात सय मिटर उचाइको दुई वटा डाडा पार गरेर दामोदरकुण्ड पुग्ने तिर्थयात्रीहरु धर्मशालामा बास बस्नुपर्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाएको भवनमा दाताको सहयोग जुटाएर असार देखि भदौको दोस्रो साता सम्म निशूल्क भोजन तथा आवास सुविधा सहितको धर्मशाला सञ्चालन भएको छ ।
धर्मशालाका कर्मचारी कर्म रेङगे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिना भन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तिर्थयात्री र पर्यटकहरुलाई समस्या भएको बताउनुभयो ।
“धर्मशाला सञ्चालन नहुने समयमा दामोदरकुण्डमा आउने तिर्थयात्री र पर्यटकहरुले खान, बस्न दुःख ब्यहोर्नुपरेको देख्दा हामीलाई पनि खिन्न हुन्छ,” उहाँले भन्नुभयो “जनशक्ति र खाद्यान्न ब्यवस्थापन गर्ने आर्थिक स्रोत अभावका कारण दुई महिना मात्र धर्मशाला सञ्चालन गर्नुपरेको हो ।”
घिमीठाँटी र दामोदरकुण्डमा गाउँपालिकाले २०÷२० जना क्षमताको धर्मशालाको भवन बनाएको छ । जस्तापाटाले छाएको टहरा पनि छन् । घिमीठाँटी देखि दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन् । मोवाइल फोनको पहुँच छैन् ।
म्याग्दीको नारच्याङका मोहन पुर्जाको अगुवाईमा दामोदरकुण्डको धर्मशालामा दाल, चामल, तरकारी र पिठो ब्यवस्थापन हुदै आएको छ । घिमिठाटीमा दुई जना र दामोदरकुण्डको धर्मशालाका एक जना कर्मचारीलाई दैनिक रु. पाँच सय ज्याला दिएर दुई महिना राख्ने गरिएको छ ।
गत हप्ता दामोदरकुण्ड पुगेका काठमाडौका सर्वोत्तम ढकालले धर्मशाला बन्द भएकाले आफै खाने, बस्ने सामानको बन्दोबस्ती गर्नु परेको बताउनुभयो । “थाकेर लखतरान हुने तिर्थयात्रीहरु पकाएर खान सक्ने अवस्थामा हुदैनन,” उहाँले भन्नुभयो “आफै सामान बोकेर लैजाने र पकाएर खान गाहे हुने रहेछ ।”
घारा गाउँ दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ति हो । कालिगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङ सम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारी साधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ । घारा गाउँ देखि माथि घिमीठाटी सम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजनहरू यारा–घाराबाट नै घोडाको यात्रा गर्दछन् ।
दामोदरकुण्ड जान र आउनका लागि प्रति घोडा रु. दश हजार शूल्क तिर्नुपर्छ । घोडा मार्फत तिर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले आवासका साथै सञ्चारको पनि असुबिधा रहेको बताउनुभयो ।
“जेठ देखि असोज महिनासम्म भक्तजनहरु दामोदरकुण्ड आउँछन तर दुई महिनामात्र धर्मशाला सञ्चालन हुँदा समस्या भएको छ,” उहाँले भन्नुभयो “देउराली डाडादेखि दामोदरकुण्डसम्म मोवाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तिर्थयात्रीको उद्दार गर्न समस्या भएको छ ।”
बिरामीहरुको उद्धार गर्न चिठी लेखेर पठाउनुपर्ने बाध्यता रहेको छ । दामोदरकुण्डको धर्मशालाको व्यवस्थापन गर्दै आउनुभएका याराका टासी गुरुङले दाताले पठाएको र दिने खाद्यान्नले पुग्ने तथा मौसमले साथ दिने समय सम्म धर्मशाला सञ्चालन गर्ने गरिएको बताउनुभयो ।
“गत वर्ष चार हजार जनाको हाराहारीमा तिर्थयात्रीहरु पुगेको दामोदरकुण्डमा यसपाली तीन हजारको हाराहारीमा आएका छन,” उहाँले भन्नुभयो “अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमणका लागि अध्यागमन विभागबाट दश दिनका लागि पाँच सय डलर तिरेर अनुमति लिनुपर्ने नीतिगत ब्यवस्थाका कारण थोरै मात्र विदेशी आउँछन् ।”
महँगो प्रवेश शूल्क तिर्नुपर्ने कारण विशेष गरेर कमजोर आर्थिक अवस्था भएका भारतीय तिर्थयात्रीहरु चाहेर पनि दामोदरकुण्ड तिर्थयात्रामा आउन नसकेका टासीले बताउनुभयो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष झयाङ छेसा गुरुङले धर्मशाला सञ्चालनको समय अवधी लम्बाउनुपर्ने र मोवाइल फोन सेवा विस्तारको अति आवश्यक भएको बताउनुभयो ।
“धर्मशालालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गर्न स्रोत जुटाउन दाता तथा र मोवाइल फोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा पहल गरेका छौ,” उहाँले भन्नुभयो “दामोदरकुण्ड र समग्र उपल्लो मुस्ताङमा पर्यटक तथा भक्तजनको आगमन बढाउन अर्धनिषेधित क्षेत्र हटाउन संघीय सरकारसँग पहल गरेका छौ ।”
कालीगण्डकी नदीको उद्गम स्थल दामोदरकुुण्ड दर्शन र स्नान गर्नाले पुण्य र आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकांक्षा पुरा हुन जनविश्वास छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्ने गर्दछन् । तलाउको छेउमा वौद्ध धर्मावलम्बीहरुको छोर्तेन पनि छ । नजिकैको पहाड वौद्ध धर्मका लामाले लगाउने टोपी आकारको छ ।
दामोदर हिमशृङखलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम संगम हो । मौसम र वातावरणीय हिसाबले जेठ देखि साउन महिना सम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ । पाँच वटा कुण्डहरु रहेको दामोदरकुण्ड स्नानका लागि जनै पूर्णिमा र चैते दशैका दिन भक्तजनहरु बढी संख्यामा जान्छन् । भक्तजनहरूले दुई वटा ठुला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।
कठिन पूर्ण यात्रा गरेर दामोदर कुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदिने हालै त्यहाँ गएर आउनुभएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताउनुभयो । वरपरका सेता हिम चुचुरोले घेरिएको दामोदर कुुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने सुवेदीले बताउनुभयो ।